सरकार अविचलित निष्ठाकासाथ अघि बढ्छ : प्रधानमन्त्री ओली

 फागुन २१, २०७७ शुक्रबार ९:४०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने अवरोध छिचोल्दै सरकार अविचलित निष्ठाकासाथ अघि बढिरहेको बताउनुभएको छ । 

झापा आन्दोलनका योद्धाको स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै उहाँले आफू जनताको जीवनमा समृद्धि, समानता, सामाजिक न्याय र सुखका साथ देशको स्वाधीनता, अखण्डता र स्वाभिमान हासिल गर्ने कार्यमा सक्रिय भएर लाग्ने बताउनुभएको हो । 

उहाँले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारले देशमा तीव्र विकासको माध्यमबाट देशलाई समृद्ध र जनतालाई सुखी बनाउँदै सहिदको सपना साकार पार्ने काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले जनताले आफ्ना माग शान्तिपूर्ण रुपमा राख्न पाउने संवैधानिक बाटाहरु बन्द रहेको अवस्थामा जनताको आन्दोलनमाथि निरङ्कुश सत्ताले गरेको दमनको प्रतिवादस्वरुप झापा आन्दोलन सृष्टि भएको भनाइ राख्नुभयो । 

‘कम्युनिस्ट पार्टीले आफ्नो स्थापना कालमा सैद्धान्तिक रुपमा राखेको गणतन्त्रको मागलाई जनस्तरमा विस्तार गर्दै विभाजित कम्युनिस्ट आन्दोलनलाई सवल बनाउन याे आन्दोलन एउटा गौरवपूर्ण प्रस्थान बिन्दु थियो।’

उहाँले  भन्नुभयो, ‘त्यस आन्दोलनको सञ्चालन गरिरहँदा हामीले नेपालमा पञ्चायती व्यवस्था र निरङ्कुश राजतन्त्रलाई उखेलेर फाल्ने र सामाजिक न्यायसहितको समतामूलक समाज तथा गणतन्त्र स्थापना गर्ने उद्घोष गरेका थियौँ । हामीले त्यस उद्घोषलाई सार्थक बनाउँदै गणतन्त्र स्थापना गरेका छौँ ।'

आजभन्दा ४८ वर्षअघि आजकै दिन त्यस आन्दोलनका क्रममा  रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई कारागार सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर पञ्चायती सत्ताले हत्या गरेको थियो । 

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक आन्दोलन, कम्युनिस्ट, प्रगतिशील र लोकतान्त्रिक आन्दोलनको इतिहासमा यस दिनको असाधारण तथा ऐतिहासिक महत्व रहेको उल्लेख गर्दै यस क्षणमा नेपालको कम्युनिस्ट आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदलाई स्मरण गर्नुभएको छ । 

'उहाँहरुले देश र लोकतन्त्रका लागि, समानता र जनताको अधिकार सम्पन्नताका लागि निरङ्कुश राजतन्त्र ढालेर लोकतान्त्रिक प्रणाली ल्याउन आफ्नो जीवन अर्पण गर्नुभएको थियो ।' प्रधानमन्त्रीको श्रद्धाञ्जलि वक्तव्यमा भनिएको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया