पाटनबाट ३७ वर्षअघि चोरिएको मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गर्‍याे

 फागुन २२, २०७७ शनिबार १०:२३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुरको पाटनबाट हराएको वासुदेव-कमलाजा (लक्ष्मी-नारायण) को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ ।

वासिङ्टनमा रहेको नेपाली दूतावासमा भएको कार्यक्रममा अमेरिकाले नेपाललाई ३७ वर्षअघि चाेरिएको प्राचीन मूर्ति हस्तान्तरण गरेको हो ।

अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो एफबीआईका उपसहायक निर्देशक तिमोथी एन डन्हाम अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई वासुदेव-कमलाजाको मूर्ति हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा अमेरिकी विदेशमन्त्रालयका प्रमुख उपसचिव इर्भिन मासिङ्गाले नेपालको सांस्कृतिक सम्पदा संरक्षणका लागि अमेरिकाले सधैँ सहकार्य गर्ने र वासुदेव-कमलाजा जस्तो प्राचीन मूर्ति हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

अमेरिकाको टेक्सास राज्य डल्लास म्युजियम अफ आर्टमा गएकाे वर्ष मंसिरमा भेटिएको यो मूर्ति सन् १९८४ मा पाटनको नारायण मन्दिरबाट हराएको थियो । मूर्तिबारे सूचना दिने न्यूयोर्कमा रहेको जोन-जे कलेजकी प्राध्यापक इरिन एल थोम्सनकाअनुसार डल्लास सङ्ग्रहालयले वासुदेव-कमलाजा मूर्ति नेपाल फर्काउने इच्छा देखाएको थियो ।

त्यसका लागि सङ्ग्रहालय म्युजियमका कानुनी अधिकारीले नेपालबाटै मूर्ति चोरिएको प्रमाण र प्रहरी प्रतिवेदन माग गरेका थिए । नेपाली दूतावासले केही प्रक्रिया पूरा गरेर मूर्ति नेपाल पठाइने जानकारी दिएको छ ।

रकम अभावका कारण फिर्ता ल्याउन नसकेर अमेरिकामै थन्किने अवस्थामा पुगेको वासुदेव-कमलाजाको मूर्तिलाई लागेजति खर्च ब्यहाेरेर फिर्ता ल्याउने ललितपुर महानगरपालिकाले घोषणा गरिसकेको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया