जग्गाधनी बेल्जियममा, दलालले नक्कली नागरिकता र लालपुर्जा बनाएर काठमाण्डौको २० आना जग्गा बेचिदिए

 फागुन २३, २०७७ आइतबार १३:५२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर, सामाजिक सञ्जाल

काठमाण्डौ – नक्कली कागजात बनाएर म्याग्दीकी मीना खड्काको नाममा रहेको काठमाण्डौको जग्गा बेच्ने नौ जना पक्राउ परेका छन् । 

बेल्जियममा बस्ने म्याग्दीकी मीना खड्काको नक्कली नागरिकता र लालपुर्जा बनाएर उनको नाममा रहेको थानकोटको २० आना जग्गा बेचेको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको हो । यो मुद्दामा केही व्यक्ति पहिले नै पक्राउ परिसकेका र थप नौ जना अहिले पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । 

प्रहरीले अहिले काठमाण्डौका विजयकुमार खड्का, धादिङको नीलकण्ठका बालप्रसाद भट्ट, काभ्रेका रामचन्द्र पुडासैनी, सङ्खुवासभाका इन्द्रबहादुर घले, रामेछापका बालकृष्ण बुढाथोकी, सिन्धुपाल्चोकका लक्ष्मी घतानी, ओखलढुङ्गाका विजयप्रकाश सुनुवार, सिन्धुलीका कृष्णबहादुर दर्लामी र झापाका कृष्णबहादुर कटुवाललाई पक्राउ गरिएको जनाएको छ ।

दलालहरूले मीनाको जग्गा ७२ लाख रुपैयाँमा कृष्णगोपाल श्रेष्ठ र कृष्णभक्त माक श्रेष्ठलाई पास गरिदिएका थिए । दलालहरूले यही जग्गा काभ्रेका कुमार दाहालको नाममा पास गरिदिने भन्दै ३५ लाख रुपैयाँ बैना रकम लिइसकेका प्रहरीले जनाएको छ । 

यसै घटनामा यसअघि मालपोत कार्यालय कलङ्कीका कर्मचारीहरू दीपक दाहाल, नारायण श्रेष्ठ र दीपा पंज्ञानी अदालतबाट धरौटीमा रिहा भइसकेका छन् । फरार रहेका केहीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया