२७ प्रतिशत भूकम्पपीडितको मात्र घर बन्याे, प्राधिकरण भन्छ 'ताेकिएकै समयमा निर्माण सम्पन्न हुन्छ'

 भदौ ४, २०७५ सोमबार ७:४७:३४ | रासस
unn.prixa.net

काठमाडौं – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने बताउनुभएको छ । 

ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३ आैँ वार्षिकोत्सवको अवसरमा भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनासम्बन्धी आइतबार यहाँ आयोजित विचार गोष्ठीमा उहाँले आव २०७५/०७६ लाई पुनःनिर्माण वर्षका रुपमा अभियान सञ्चालन गर्ने र आव २०७६/०७७ मा सबै घर निर्माण कार्य पूरा हुन्छ भन्नुभयो । 

उहाँले भूकम्पपीडितले मापदण्ड पूरा गरेर मात्र घर बनाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा राजपाका नेता महेन्द्रराय यादवले भूकम्पपीडितलाई आएको विदेशी सहायता पीडितसम्म नपुगेको, राष्ट्रिय प्राधिकरणको काम कछुवा गतिमा अघि बढिरहेको, जनता बाढी, पहिरोको जोखिममा बाँच्न बाध्य भएको बताउनुभयो । 

सांसद आशाकुमारी विकले भूकम्पपीडितले धेरै दुःख पाइसकेकाले उनीहरुको घर समयमै निर्माण गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । 

ट्रान्सपरेन्सी इन्टरनेशनलका महासचिव पद्मिनी प्रधानाङ्गले भूकम्पबाट क्षतिग्रस्त भवन तथा विद्यालय अझै पुनःनिर्माण हुन नसकेको, भूकम्पपीडितको घर निर्माणको गति सुस्त भएको उल्लेख गर्नुभयो । 

ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष हरि अर्यालले भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि सदाचार कार्यक्रम सञ्चालन गर्दै आएको र नीति निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहकार्य गर्दै आएको जानकारी दिनुभयो । 

कार्यक्रममा २७ प्रतिशत लाभग्राहीले मात्र घर निर्माण कार्य पूरा गरेको जानकारी दिइयो । 

चौध जिल्लामा आठ लाख ०७ हजार ४८६ लाभग्राही रहेको, सात लाख २२ हजार १७६ सँग अनुदान सम्झौता भएको, पाँच लाख ४१ हजार ४४० घर निर्माण शुरु गरेको, तीन हजार ८१५ विद्यालय निर्माण सम्पन्न भएको बताइयो । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया