काठमाण्डाै उपत्यकामा हजाराैँ सङ्ख्यामा रहेका घरपालुवा र छाडा कुकुरकाे मलमूत्रबाट यस्ता राेग फैलिन सक्छन्

 फागुन २५, २०७७ मंगलबार २०:१३:३० | राधा ढुङ्गाना
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भक्तपुर नगरपालिकाको वडा नम्बर ७ ले छाडा र घरपालुवा कुकुर व्यवस्थापनको काम गरिहरहेको छ । छाडा छोडिएका कुकुरले मानिसलाई टोक्ने र विभिन्न किसिमका रोग लाग्ने हुँदा वडाले छाडा कुकुरको व्यवस्थापन र घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने काम गरेको हो ।

तथ्याङ्कअनुसार यस वडाभित्र दुई सय २३ कुकुर पालिएको देखिएको छ । यीमध्ये एक सय ९६ कुकुरलाई मात्र रेबिजको खोप लगाइएको छ । छाडा छोडिएका र घरपालुवा कुकुरबाट विभिन्न रोग सर्न सक्ने हुँदा स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै वडाले व्यवस्थापनका लागि अभियान नै सुरु गरेको हो । यो समस्या वडाको मात्रै नभएर देशभरिकै हो, यद्यपि सहरी क्षेत्रमा बढी समस्या देखिएको छ । 

काठमाण्डौ उपत्यकावासीमा कुकुर पाल्ने रहर बढी देखिन्छ । कुकुर पाल्दा ध्यान दिनुपर्ने कुराहरूमा भने जानकारी नहुँदा कुकुरबाट विभिन्न रोग सर्ने जोखिम पनि बढ्दै गएको छ । त्यतिमात्र नभएर कुकुर समाजमा एक विकृतिको रूपमा स्थापित हुँदै आएको छ । घरपालुवाको रूपमा पाल्ने अनि रोगी र बूढो हुँदै गएको कुकुरलाई छाडा छोड्ने प्रवृत्ति बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा सबैभन्दा बढी समस्याको रूपमा देखिन थालेको हो ।

यसबारे पशु कल्याणमा लागिपरेका सङ्घ–संस्थाको ध्यान पनि खासै गएको देखिँदैन । नेपाल सरकारको पशु सेवा विभागले छाडा कुकुर व्यवस्थापनका लागि केही गर्न सकेको छैन । विभागका प्रवक्ता डाक्टर चन्द्र ढकाल त्यस्ता कुकुरको तथ्याङ्क नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘अहिले स्थानीय तहले हेर्छ, काठमाण्डौको काठमाण्डौ महानगरपालिकाले काम गर्छ ।’  

नेपाल सरकारकै केन्द्रीय रेफरल भेटनरी अस्पतालका सूचना अधिकारी डा. अर्जुन अर्यालले यसको नियन्त्रणका लागि अस्पतालले स्थानीय सरकारसँग सहकार्य गरेर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले झण्डै पाँच वर्षदेखि देशभरिकै कुकुरको नियन्त्रणका लागि बन्ध्याकरण र रोग नलागोस् भनेर रेबिजविरुद्धको खोप लगाइरहेका छौँ ।’ यो वर्ष अस्पतालले उपत्यकाको चाँगुनारायण र कीर्तिपुर नगरपालिकामा अभियान सकिएको र टोखा नगरपालिकामा यो अभियान सुरु गर्ने तयारी गरिएको डा. अर्यालले बताउनुभयो ।

सन् २०१० को तथ्याङ्कअनुसार काठमाण्डौ उपत्यकामा झण्डै २३ हजारको सङ्ख्यामा सामुदायिक कुकुर थिए । अहिले कतिको सङ्ख्यामा छन् भन्ने विषयमा कसैलाई जानकारी छैन । उपत्यकामा पालिएका कुकुरलाई हिँडाउँदै सार्वजनिक स्थलमा शौच गराउने गरिएको पाइन्छ, जसका कारण फोहर हुने र हानीकारक रोग लाग्ने सम्भावना बढी हुन्छ । 

यस्ता रोग फैलिन्छन् कुकुरबाट 

पशु चिकित्सकका अनुसार कुकुरको मलमूत्रसँग हुन सक्ने लसपसबाट मानिसमा खासगरी परजीवी जुका तथा पाचनप्रणालीमा असर गर्ने जियार्डियासिस, साल्मोनेलिस र अमिबियासिसजस्ता रोग सर्न सक्छन् ।  

कुकुरको दिसामा हुने इकाइनोकोकस ग्रानुलोसस भनिने एक प्रकारको फित्तेजुकाका अण्डा हुन सक्छन् । कसैगरी खानेकुरामा त्यसको लसपस भयो भने त्यसले मानिसका महत्त्वपूर्ण अङ्गहरूमा जस्तैः– कलेजो, फोक्सो, मिर्गौला वा मस्तिष्कमा पनि सिस्टको रूपमा विकसित भइदिन्छ । कुनै–कुनै अवस्थामा त्यसले जटिल शल्यक्रिया गराउनु पर्ने स्थिति निम्तिन्छ ।

अर्को जोखिम त्यसमा हुन सक्ने ब्याक्टेरियाको सङ्क्रमण पनि हो । कुकुरको पिसाबबाट खानेपानीको स्रोतमा प्रदूषण हुन पुगेको खण्डमा यसले मानिसलाई गम्भीर असर पुर्‍याउन सक्छ । यसबाट मिर्गौलामा गम्भीर असरका साथै कसैकसैमा मेनिन्जाइटिस पनि गराउन सक्छ । 

विशेषगरी कुकुरबाट लाग्न सक्ने रोग भनेको रेबिज हो । रेबिज रोग लागे यसको उपचार सम्भव छैन । अर्को रोग रहेको छ, पार्बो भाइरस । यो रोग लागिसकेपछि पाचन प्रणालीमा असर गर्छ । 

अहिले काठमाण्डौ उपत्यकामा पनि कुकुरबाट लाग्ने पार्बोको समस्या देखिन थालेको केन्द्रीय रेफरल भेटनरी अस्पतालका प्रमुख डा. टङ्क प्रसाईँले बताउनुभयो । यो भाइरसको लक्षण ज्वरो आउने, खाना खान मन नलाग्ने, डाइरिया हुने हुँदा कुकुर पाल्दा ध्यान दिनुपर्ने डा. प्रसाईँ बताउनुहुन्छ । डा. प्रसाईँ भन्नुहुन्छ, ‘कुकुर र यसको मलमूत्रबाट लुतो लाग्ने, छालामा खटिरा आउने, आँखा–मिर्गौलाजस्ता शरीरका अङ्गमा रोग लाग्ने सम्भावना हुन्छ । कुकुरसँगको लसपसबाट कुकुरमा लागेको रोग सर्ने सम्भावना बढी हुन्छ । जस्तैः– थरथर काँप्ने, बेहोस हुनेजस्ता समस्या पनि देखिने हुन्छ ।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधा ढुङ्गाना

ढुङ्गाना उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया