अलिबाबामाथि एक अर्ब डलर जरिबाना गर्ने चीनकाे तयारी

 फागुन २८, २०७७ शुक्रबार १३:५७:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनले ई–कमर्स क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरू उल्लङ्घन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिबाना गर्न लागेको समाचार सार्वजनिक भएको छ । 

यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको अहिलेसम्मकै सबैभन्दा ठूलो जरिबाना हो । यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिबाना तिरेको थियो ।क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्‍याएकाे आरोप लागेको थियो । 

अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा बिहीवार अलिबाबामाथिको जरिबानासम्बन्धी समाचार छापिएको थियो । त्यसलगत्तै एएफपीले अलिबाबाका विषयमा चिनियाँ अधिकारीहरूसँग सम्पर्क गर्दा उनीहरूले यसबारेमा केही बताउन चाहेनन् । 

चीनको सबैभन्दा ठूलो अनलाइन शपिङ पोर्टलका रूपमा स्थापित अलिबाबामाथि चिनियाँ अधिकारीहरूले केही महिनादेखि अनुसन्धान र छानबिन गरिरहेका छन् । यो कम्पनी हरेक चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ । 

तर अलिबाबाका संस्थापक ज्याक माले गएकाे वर्षकाे अक्टोबरमा चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेपछि उहाँ र उहाँका व्यवसाय सरकारी निकायहरूको आँखाका तारो बनेका छन् । 

गएकाे नोभेम्बरमा चिनियाँ वित्तीय नियामक निकायहरूले अलिबाबाको अनलाइन भुक्तानीसम्बन्धी सहायक कम्पनी 'एन्ट ग्रुप' ले सार्वजनिक गर्न लागेको ३५ अर्ब डलरको हङकङ–शाङ्घाई प्रारम्भिक शेयर निष्कासन (आईपीओ) लाई रोकिदिएका थिए । 

त्यसको एक महिनापछि अधिकारीहरूले अलिबाबाको व्यावसायिक गतिविधिको फाइलमाथि अनुसन्धान सुरु गरे । त्यही समय स्वयं ज्याक मा मध्य जनवरीसम्म सार्वजनिक रूपमा कतै देखा पर्नु भएन । 

चीनको पूर्वी शहर हान्झाउमा रहेको अलिबाबा कम्पनीले गएकाे महिना राज्य प्रशासनका अधिकारीहरूलाई अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको थियो । 

जर्नलका अनुसार अनुसन्धान अधिकारीहरूले अलिबाबाले आर्जन गरेको सम्पत्ति अन्य असम्बन्धित क्षेत्रमा प्रवाह गरिरहेको छ/छैन भन्ने खोजी गरिरहेका छन् । अलिबाबाका प्रवक्ताले यस घटनाका बारेमा पनि केही बताउन चाहेनन् ।

अलिबाबामाथि आफूसँग आबद्ध व्यापारीहरूलाई अन्य प्रतिस्पर्धी ई–कमर्स कम्पनीमा सूचीकृत हुन रोक्दै आएको आरोप छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया