कांग्रेसलाई जसपाकाे आग्रह– ‘सरकारकाे विकल्प खाेज्न अग्रसरता देखाउनुस्’

 फागुन २८, २०७७ शुक्रबार १८:२२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजदावी पार्टी (जसपा) का नेताहरूले नेपाली कांग्रेसलाई वर्तमान सरकारको विकल्प खोज्न अग्रसरता देखाउन आग्रह गरेका छन् । शुक्रवार बेलुकी ४ कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा जसपाका नेताहरूले नेपाली कांग्रेसकाे अग्रसरतामा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने धारणा राखेको पार्टी प्रवत्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

जसपाका नेताहरूले साझा धारणा बनाउनका लागि मत/अभिमत आएको तर ठोस निर्णय भइनसकेको प्रवक्ता शर्माको भनाइ छ । सरकारको नेतृत्वको विषयमा थप संवादपछि निष्कर्षमा पुग्ने कांग्रेसको भनाइ छ । 

छलफलमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधिलगायत नेताको सहभागिता रहेको थियो भने जसपाबाट अध्यक्षहरू महन्थ ठाकुर, उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतोलगायत रहेका थिए । 

जसपाका नेताहरूसँगको छलफलअघि कांग्रेसको पदाधिकारी बैठक बसेको थियो । बैठकमा कांग्रेस नेताहरुले ओली सरकारको नेतृत्व हटाउने विषयमा आफ्नो धारणा राखेका थिए । ओली सरकारको विकल्प खोज्नुपर्ने कांग्रेसका नेताहरूको धारणा छ । 

छलफलका क्रममा जसपा नेताहरूले जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ तथा मुद्दा फिर्ता, नागरिकताको समस्या समाधानलगायतका आफ्ना एजेण्डा प्रस्तुत गरेको जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले बताउनुभयो । कुनै सहमति नभएको र बृहत् छलफलको आवश्यकता रहेको ठाकुरको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘कांग्रेससँग सबै विषयमा कुराकानी भयो । अहिलेको अवस्थामा मिलेर जाने विषयमा र हामीले पनि आफ्नो एजेण्डा राख्यौँ । जेलमा रहेका हाम्रा साथीहरूलाई छोड्नुपर्छ । नागरिकताको समस्या समाधान हुनुपर्छ । त्यसपछि मुद्दा फिर्ता हुनुपर्छ । यो कुरा हामीले भन्यौँ । उहाँहरूले सबै मिले जाऔँ भन्नुभयाे ।’

यसअघि सिंहदरबारमा भएकाे संसदीय दलकाे बैठकपछि जसपाका नेताहरू बूढानीलकण्ठ गएका हुन् ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया