जिल्लामै मिर्गाैला डायलाइसिस सेवा पुग्दा बिरामीलाई मिल्यो राहत

 फागुन २९, २०७७ शनिबार १३:३०:१३ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा म्याग्दीको बेनी अस्पतालमै निःशुल्क मिर्गाैलाको डायलाइसिस सेवाले बिरामीलाई सहज भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको पहलमा गएको साउन महिनादेखि म्याग्दीमा मिर्गाैला डायलाइसिस सेवा सञ्चालनपछि मिर्गाैला बिरामी लाभान्वित भएका हुन् ।

सामाजिक विकास मन्त्रालयको पहलमा प्रदेश सरकारको सहयोगबाट म्याग्दीको बेनी अस्पतालमा निःशुल्क मृगौलामिर्गाैलाको डायलाइसीस गर्ने सेवाबाट मिर्गाैलापीडित बिरामीलाई राहत मिलेको छ । जिल्लामै मिर्गाैला डायलाइसिसको उपचार सेवा पाउँदा गाउँमै रोग लुकाएर बस्न बाध्य बिरामी तथा जिल्ला बाहिर उपचार गर्न जानुपर्ने बाध्यताको अन्त्य भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले चारवटा डायलाइससस मेसिन उपलब्ध गराएको छ भने प्रवासी म्याग्देलीहरुले पनि मिर्गाैला डायलाइसिस गर्न दुईवटा मेसिन सहयोग गरेका छन् । अहिले मिर्गाैला डायलाइसिसका लागि चारवटा मेसिन सञ्चालन गरिएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र अस्पतालको समितिमार्फत झण्डै एक करोड रुपैयाँको लागतमा जिल्लामै निःशुल्क डायलाइससस सेवा सञ्चालन गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

म्याग्दी जिल्लाका अधिकांश नागरिकहरुमा मिर्गाैलाको समस्या देखिएपछि सामाजिक विकास मन्त्रालयको पहलमा जिल्लामै मिर्गाैला डायलाइसिस सेवाको सुरुवात गरिएको जनाइएको छ । अहिले बेनी अस्पतालमा ९ जनाले मिर्गाैला डायलाइसिसको नियमित सेवा लिइरहेका छन्भने ५० जना बिरामीहरु सेवा लिन पालो पर्खिरहेका छन् । यसैगरी ३० जना मिर्गाैलापीडित बिरामीहरु सम्पर्कमा आएको बेनी अस्पतालले जनाएको छ । मिर्गाैलाडायलाइसिस सेवा सञ्चालनपछि हालसम्म १२ जनाले सेवा लिइसकेका छन् ।

विद्युत् नभएको अवस्थामा मिर्गाैला डायलाइसिस गर्नका लागि १० केभीए क्षमताको जेनेरेटर जडान गरी तयारी अवस्थामा राखिएको छ । मिर्गाैलापीडित बिरामीहरुलाई डायलाइसिस सेवा प्रदान गर्न २ जना डाक्टरसहित तालिम प्राप्त ६ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । अहिले नियमित ३ जना बिरामीहरुको मिर्गाैला डायलाइसिस भैरहेको बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर अमृत अधिकारीले जानकारी दिनुभयो ।

बेनी अस्पतालमा मिर्गाैलाको डायलाइसिस सेवा सुरु भएसँगै म्याग्दीसहित मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका सर्वसाधारणहरु लाभान्वित भएका छन् । यसअघि डायलाइसिस सेवाका लागि बागलुङ, पोखरा, काठमाण्डौ र चितवन जानुपर्ने बाध्यता थियो । जिल्लामै डायलाइसिसको सेवा लिन पाउँदा जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनुका साथै समय र पैसाको समेत बचत भएको बिरामीहरु बताउँछन् ।

डायलाइसिस सेवासहित प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट बेनी अस्पतालमा अक्सिजन प्लान्ट तथा आईसीयू स्थापना र सञ्चालन, फोहोर व्यवस्थापन, सवारीसाधन खरिद, स्टोर भवन लगायतमा सहयोग भएको छ । २०७२ सालमा १५ शैयाबाट ५० शैय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालमा हाल ५० शैय्याको भवन निर्माणाधीन अवस्थामा रहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया