गर्मीयाममा खानपानमा ध्यान नदिए ज्यानै जाेखिममा पर्न सक्छ, यस्ता छन् बच्ने उपाय

 चैत २, २०७७ सोमबार १५:५२:२५ | राधा ढुङ्गाना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – मौसम परिवर्तनसँगै गर्मीयाम सुरु भइसकेको छ । यो समयमा धुलो, धुँवा र प्रदूषित वातावरणका कारण विभिन्न स्वास्थ्य समस्या देखिने गर्दछ । गर्मी बढेसँगै रुघाखोकी लाग्ने, ज्वरो आउने, टाइफाइड हुने, झडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, फुड पोइजन हुने, भाइरल रोग जस्तै– डेङ्गी, मलेरियाजस्ता स्वास्थ्य समस्या दखिने हुँदा सावधानी अपनाउन डाक्टरको सुझाव छ । 

खानपान र जीवनशैलीमा ध्यान नदिए ज्यानैसमेत जाने जोखिम हुने डाक्टर बताउँछन् । अहिले मानिसको परिवर्तित जीवनशैलीका कारण मानिसमा देखिने माैसमी स्वास्थ्य समस्या बढ्दै गएको पाइन्छ । यस्ता समस्यालाई सामान्य रूपमा लिँदा ज्यानसमेत जाने खतरा हुन्छ । यो समयमा ज्वरो आउने, लगातार खोकी लाग्ने, वान्ता हुने, पेट दुख्नेजस्ता समस्या देखिए स्वास्थ्य संस्था जान डाक्टरको सुझाव छ । आफूखुसी औषधिको प्रयोग गर्दा झन् जोखिम बढ्ने हुन्छ । 

यो समयमा खानपानबाट सर्ने सङ्क्रामक रोग बढी देखिने हुँदा खानपानमा विशेष सावधानी अपनाउन सरुवा रोग विशेषज्ञ डाक्टरशेरबहादुर पुनको सुझाव छ । डा. पुन भन्नुहुन्छ, खानपान र जीवनशैलीमा ध्यान नदिए टाइफाइड, झाडापखला, जन्डिस, ज्वरो आउने लगायत स्वास्थ्य समस्या देखिन्छ । विभिन्न रोगको सङ्क्रमण भएमा ज्वरो आउने, वाकवाक लाग्ने, पखला लाग्ने, भोक नलाग्ने, शरीर बोझिलो र आलस्यमय हुने लक्षण देखिने गर्दछ । 

यस्ता छन् बच्ने उपाय 

डा.पुनको सुझाव छ, गर्मीको समयमा हुन सक्ने स्वास्थ्य समस्याबाट जोगिन बाहिर बनेको खाना नखाने, पानीलाई राम्ररी उमालेर खाने, शारीरिक व्यायाम गर्ने, सरसफाइमा ध्यान दिने गर्नुपर्छ । ज्वरो आएमा, लगातार खोकी लागेमा, छाती दुखेमा तत्काल स्वास्थ्य जाँच गराउन डा. पुनको आग्रह छ । गर्मी भनेर गुणस्तरहीन बरफ, दूषित खानेपानी, सडकमा जथाभाबी बेचिएका खानेकुरा र फलफुल खानु हुँदैन । चिल्लो, भुटेको वा तारेको, सुख्खा खानेकुरा यो मौसममा र अन्य बेला पनि सकेसम्म नखानु राम्रो मानिन्छ ।

यो समयमा उमालेको पानी प्रशस्त पिउनुपर्ने डाक्टरहरू बताउँछन् । आजभोलि मानिसहरू मिठो स्वादका लागि बाहिर बनेको खानेकुरा धेरै खाने गर्दछन् । यसरी खाइने खाना स्वस्थ नहुने हुँदा बाहिर बनेको खाना त्याग्नुपर्ने हुन्छ । जङ्क फुड प्राय सधैँजसो समयमा नै हानिकारक नै मानिन्छ । गर्मीमा खाइने जङ्क फुडले फुड पोइजन हुनेजस्ता पेटको समस्या देखिन सक्छ । जङ्क फुडले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने हुँदा बालबालिका र वृद्धवृद्धा यसबाट बढी प्रभावित हुने गर्दछन् । यो समयमा माैसमअनुसारको फलफुल, सागपात प्रशस्त खानुपर्दछ । झोलिलो पदार्थ खाने गर्नुपर्दछ । चुरोट र सुर्तीजन्य पदार्थको सेवन गर्नुहुँदैन ।

पछिल्ला वर्षमा गर्मीयाममा लामखुट्टेको टोकाइबाट डेङ्गीकाे समस्या पनि देखिने गरेको छ । घर वरपरको वातावरण स्वच्छ राख्न सके डेङ्गीबाट जोगिन सकिन्छ । घर वरिपरि फोहोर र पानी जम्न दिनुहुँदैन । गर्मीको समयमा तापक्रम उच्च हुने हुँदा छालासम्बन्धी विभिन्न समस्या देखिन सक्छ । घरबाहिर निस्कँदा शरीर पूरै ढाकेर निस्कनु उपयुक्त हुन्छ । सकेसम्म धुलो र धुँवाबाट जोगिनुपर्दछ । खानपानमा पनि यो समयमा विशेष ध्यान दिनुपर्दछ । 

यसका साथै गर्मीयाममा हलुका किसिमका खुकुलो लुगा लगाउने, घामबाट आँखाको सुरक्षाका लागि चस्माकाे प्रयोग गर्ने, छालाको सुरक्षाका लागि सनइस्क्रिन क्रिमको प्रयोग गर्न सकिन्छ । साथै घाममा छाता ओडेर हिँड्ने, हाते पङ्खा चलाउने, सकेसम्म पिउने पानी आफैसँग बोकेर हिँड्नेजस्ता उपाय अपनाउन सकिन्छ । गर्मी भए पनि बिहान सबेरै उठेर व्यायाम गर्ने, पैदल हिँड्नेजस्ता गतिविधि गरेमा शरीर फुर्तिलो हुन्छ ।

यो मौसममा जीवनशैली व्यवस्थित गर्न सकियो भने युरिक एसिड र कोलेस्टोरल उच्चका  साथै मधुमेहको बिमारीबाट राहत पाउन सकिन्छ । एकैपटक धेरै नखाने तर थोरैथोरै खाइरहने, बरफयुक्त र गुलियो पेयले छिटो तिर्खा लगाउने हुनाले अति चिसो र अति गुलियो नखानु नै बेस हुन्छ ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधा ढुङ्गाना

ढुङ्गाना उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया