स्ट्रबेरी खेती सिक्दै, जीवन धान्ने माध्यम बनाउँदै दाङका किसान

 चैत २, २०७७ सोमबार १९:५५:२४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित बन्दै गएका छन् । घोराही उपमहानगरपालिका १६ का किसान स्ट्रबेरी खेती सिक्न थालेका मात्रै छैनन्, जीवन धान्ने माध्यम बनाउने योजनामा छन् । 

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत घोराही उपमहानगरपालिकामा विनियोजित बजेटबाट स्ट्रबेरी खेती सञ्चालन हुने भएपछि हर्षित भएका किसान व्यावसायिक स्ट्रबेरी खेतीको तयारीमा जुटेका किसान समूहका अध्यक्ष लरिलाल चौधरीले जानकारी दिनुभयो । सात जनाको किसान समूह बनाएर व्यावसायिक सामूहिक स्ट्रबेरी खेती सञ्चालनमा ल्याउने र यसैबाट पारिवार पाल्ने सपना देखेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

‘हामी परम्परागत खेती सञ्चालन गर्दै आइरहेका छौँ । परम्परागत खेती निर्वाहमुखी मात्रै भयो । यसबाट खानमात्र पुग्ने भयो । परिवारको खर्च धान्न समस्या भइरहेको समयमा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमबाट स्ट्रबेरी खेतीका लागि सहयोग पाएका छौं’, अध्यक्ष चौधरीले भन्नुभयो, ‘मुख्यमन्त्री कार्यक्रमले हामीलाई साहस भरिदिएको छ । यो कार्यक्रमबाट प्राप्त सहयोगलाई अवसरका रुपमा लिएका छौँ । स्ट्रबेरी खेतीका लागि तालिम पाएका छौँ । अब ग्रीन हाउस र थोपा सिँचाइको सहयोग पाउने भएका छौँ । यो अवसरलाई सदुपयोग गर्नेछौँ ।’

दाङलाई फलफूलमा आत्मनिर्भर बनाउने र विपन्न परिवारको जीवनस्तर उकास्ने उद्देश्यले बजेट विनियोजन गरिएको भन्दै घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपानेले कार्यक्रमलाई प्रभावकारी बनाउन किसान समूहलाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सहयोग प्राप्त मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको बजेटलाई नगरमा स्वरोजगार सिर्जना गर्ने अवसरका रुपमा लिएको उपप्रमुख न्यौपानेले बताउनुभयो ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया