छोराछोरीको विवाह रोक्ने आमाबुबा !

 चैत ६, २०७७ शुक्रबार २०:२०:२९ | इन्द्रसरा खड्का

गएको साउन २० गते दैलेखको आठबीस नगरपालिकाकी जयसरा विक सधैँ जस्तै बिहानै उठ्नुभयो । साउन महिना कामको चटारो । धान, कोदाे, मकै गोडमेल गर्नु थियो । काममा जानुअघि छोरीहरूलाई उठाउन जानुभयो । घरको अर्को कोठामा जेठी र माइली छोरी सुतेका थिए । कोठाको ढोका खुलै थियो । भित्र छोरीहरू थिएनन् । जयसरा आत्तिनुभयो । खोजी गर्दै जाँदा घर नजिकैको अर्को घरमा माइली छोरी भेटिइन् तर जेठी छोरी त्यहाँ थिइनन् । 

जयसराले दिदी खोइ भनेर माइली छोरीलाई सोध्नुभयो । ‘दिदी बेली बाहै तिलेपाटाका केटासँग भागिकन बाइगइ मलाई नभन्यै भन्यो (दिदी हिजो राति तिलेपाटाको केटासँग भागेर गइ, मलाई कसैलाई नभन्नु भनेको थियो ) माइली छोरीले जवाफ दिइन् । जयसराले जेठी छोरीलाई फोन गर्नुभयो । छोरीले फोन उठाइन् । उता बिहेको बाजा बजिरहेकाे थियो । छोरीले थोरै बोलेर फोन राखिदिइन् । १८ वर्षीया छोरी भागेर गएपछि जयसराले श्रीमानलाई फोन गर्नुभयो । उहाँका श्रीमान् राकममा ज्यालादारीमा काम गर्नुहुन्छ । श्रीमान् घरभन्दा टाढा भएकाले समयमै जेठी छोरी भएको ठाउँमा जान सकिएन । छोरी भागेर गएको १३ दिनपछि जयसराले श्रीमान् र छोरालाई तिलेपाटा पठाएर छोरीलाई फिर्ता ल्याउनुभयो । 

‘नदेखेको ठाउँ म आफै जान सकिनँ । श्रीमान् काम गर्न बाहिर हुनुहुन्थ्यो । १३ दिनपछि श्रीमान् र छोरालाई पठाएर छोरी फिर्ता ल्याएँ’, जयसराले भन्नुभयो, जयसराकी छोरी अहिले कक्षा १० पढ्दैछिन् । जयसराका ४ छोरा र २ छोरी गरी ६ जना छोराछोरी छन् । एक छोरा बोल्न सक्दैनन् ।’ 

‘फर्काइ ल्याइकन अइल छोरीलाई स्कुल पठाउँदो छुँ । पढीसक्यापछि उइ केटासातै पठाइदिउँला भन्याकी छु । अरु दिनु मसँग केइ अछिन् । पढाइदी मात्रै सक्न्या हुँ ।’ (अहिले छोरी पढ्दै छे । अब उमेर पुगेपछि पहिले गएकै केटासँग पठाइदिन्छु । अरू सम्पत्ति दिन मसँग केही छैन । उमेर पुगेपछि पठाइदिन्छु ) जयसराले भन्नुभयो । अबको दुई वर्षपछि छोरीको उमेर पुगिसकेपछि जयसराले तिनै केटासँग छोरीको टीकाटालो गरी पठाइदिने योजना बनाउनुभएको छ । 

 बुहारीलाई उमेर सोधेपछि... 

आठबीस नगरपालिका ५ सल्लाकाटियाकी रंगीकला कामीका साइला छोराले कालीकोटबाट केटी भगाएर ल्याए तर रंगीकलाले घर भित्र्याउनुको साटो माइती फर्काइदिनुभयो । कुरो २०७६ साल मङ्सिरको हो । रंगीकला बिहानै उठेर घाँस काट्न जान लाग्नुभएको थियो । डोको नाम्लो तयार पारि निस्कने बेलामा साइला छोरा आए । कालीकोटमा बस्ने छोरा बिहानै घर आउँदा रंगीकला अचम्म पर्नुभयो । छोरासँगै एउटा केटी थिइन् । घाँस काट्न जान लाग्नुभएकी रंगीकला रोकिनुभयो ।

छोरासँग आएकी केटी छोराले भगाएर ल्याएको बुहारी भन्ने उहाँलाई थाहा भइहाल्यो । उहाँले उमेर सोध्नुभयो । घर भित्र्याउनुको साटो उमेर सोध्दा छोरा अचम्ममा परे । केटीले आफू १९ वर्ष भएको बताइन् । रंगीकलाले २० वर्ष नपुगेकी केटीलाई बुहारीको रूपमा घर भित्र्याउन मान्नु भएन । २० वर्ष पुगेपछि आफैँ लिन आउने भन्दै रंगीकला केटीलाई लिएर आफैँ उनको घर कालीकोट पुग्नुभयो । कालीकोट पुगेर केटीका आमाबुबालाई पनि सम्झाउनुभयो । सुरुमा उनीहरूले आफूहरूको इज्जत जाने भन्दै छोरीलाई माइतीमा राख्न तयार भएनन् ।

रंगीकलाले केटीका आमाबुबासँग उमेर पुगेपछि आफैँ लिन आउने वाचा गर्नुभयो । यता छोरालाई पनि सम्झाइ–बुझाइ गर्नुभयो । एक वर्ष माइती बसेपछि गएको मङ्सिरमा केटीको उमेर २० वर्ष पुग्यो । केटीको उमेर पुगेपछि रंगीकलाले तिनै केटीलाई घर ल्याएर भित्र्याउनुभयो । ५७ वर्षीया रंगीकला अहिले तिनै बुहारीसँग बसिरहनुभएको छ । 

उमेर पुगेपछि बिहे

आठबीस नगरपालिका ५ सल्लाकाटियाकी गौरा विकले गएको वैशाखमा छोरीको फेरि बिहे गरिदिनुभयो ।  २०७४ सालमा दैलेख सिंहासैनका केटासँग भागेर गएकी छोरीलाई उहाँले उमेर नपुगेको भन्दै भागेको पछिल्लो दिनमै फर्काउनुभएको थियो । छोरीलाई दुई वर्ष माइतीमै राखेर २०७६ को वैशाखमा उमेर पुगेपछि गौराले उनै केटासँग छोरीको टीकाटालो गरी पठाइदिनुभएको छ । 

‘नानै छँदा भागीकन पोइल गइ । कार्वाही हुँदो छ फर्काइकन ल्या भन्यो । घरै गईकन ल्याएँ । एक वर्ष आफुइसम्म राख्या । अइल उमेर पन पुग्यो पुणी पठाइदिया । क्या हर्नु अर्का घर जान्या जात एक दिन जानै पड्डो’, (छोरी सानैमा भागेर गइ । उमेर नपुग्दै बिहे गर्दा कारबाही हुन्छ फर्काएर ल्याउ भने, फर्काएर ल्याएँ । एक वर्ष घरमै राखेँ । अहिले उमेर पुग्यो पठाइदिएँ । के गर्नु एक न एक दिन छोरी पराइ घर जानैपर्छ)’, गौराले भन्नुभयो ।

गौराकी छोरी चन्द्रा अहिले सिंहासैनमा महिला स्वास्थ्य स्वयंसेविका भएर काम गरिरहनुभएको छ । 

‘हामीले जस्तै दुःख नपाऊन्’

छोराको बालविवाह रोक्ने रंगीकलाको १३ वर्षमै बिहे भएको थियो । सानैमा बिहे हुँदा भोग्नुपर्ने कष्ट उहाँलाई राम्रोसँग थाहा छ । उहाँ भन्नुहुन्छ, ‘१३ वर्षमा बिहे भएर १५ वर्षमा महिनावारी भएकी मैले कति दुःख पाएँ, कसरी भनौँ ? श्रीमानले दिने दुःख उस्तै, परिवारले दिने दुःख यस्तै । मेरो जस्तै दुःख छोरा बुहारीले नपाऊन् भनेर छोराको बिहे रोकेकी हुँ ।’

उमेर नपुग्दै गरेको विवाहबाट आफूले पाएको दुःख सुनाउँदै रंगीकलाले भन्नुभयो, ‘अहिले जस्तो परिवार नियोजनका साधन थिएनन् । बर्सेनि जस्तो बच्चा जन्मन्थे । पाठेघर झर्ने समस्या थियो । ’ 

जयसराको पनि १६ वर्षको उमेरमै विवाह भयो । ३२ वर्षकी उहाँ ६ जना छोराछोरीकी आमा हुनुहुन्छ । जयसरा भन्नुहुन्छ, ‘हामीले पढ्न लेख्न पाएनौँ, बालविवाह के हो थाहा पाएनौँ । आमाबुबाले जोसँग पठाइदियो उसैको घरमा आयौँ, बस्यौँ । अहिलेका केटाकेटी लेखपढ भएर पनि आफैँ भागेर जान्छन् ।’ 

आफूले पाएको दुःख सम्झेर नै भागेर छोराछोरीलाई फर्काएर ल्याएको आमाहरू बताउँछन् । सामुदायिक छलफल केन्द्रमा जान थालेपछि उनीहरूलाई बालविवाहको बारेमा थाहा भएको हो । 

८५ जोडीलाई फर्काइयो 

दैलेखको आठबीस नगरपालिका र नौमूले गाउँपालिकाका विभिन्न वडामा उमेर नपुग्दै भागेका ८५ जोडीलाई अभिभावकले फर्काएका छन् । २०७३ सालदेखि अहिलेसम्म ८५ जोडीलाई फर्काइएको हो । आठबीस नगरपालिकाबाट मात्रै ५३ जोडीलाई अभिभावकले फर्काएर ल्याएका छन् ।

‘कतिपय अभिभावक आफैँ पुगेर फर्काउनुभयो । कतिपयलाई फर्काउनुपर्छ भनेर दबाब दियौँ । आफैँ नबुझ्ने र भनेको नसुन्ने अभिभावकलाई जनप्रतिनिधि र प्रहरीको सहयोगमा फर्काउन लगायौँ’, आठबीस नगरपालिकाकी डिलसरा थापाले भन्नुभयो ।

५३ जोडीमध्ये कतिपयले उमेर पुगेर बिहे गरेका छन् भने कतिपय किशोरकिशोरी अहिले पढिरहेका छन् । नौमूले गाउँपालिकामा ३२ जोडीलाई फर्काएको छ । ३२ मध्ये तीन जोडीले उमेर पुगेर बिहे गरिसकेका छन् भने पाँच जोडी अहिले विद्यालय पढिरहेका छन् । यस्तै दुई जोडीको सम्बन्ध विच्छेद भएको छ भने २२ जोडी फेरि भागेर गइसकेको स्थानीय इनिसरा मगरले बताउनुभयो । इनिसरा भन्नुहुन्छ, ‘कतिपय अभिभावकले कुरा बुझ्छन् र फर्काएर पनि ल्याउँछन् तर केटाकेटी आफैँ फेरि भाग्दा पटक–पटक अभिभावकलाई फर्काउन समस्या भएको छ ।’   

अन्तिम अपडेट: बैशाख ५, २०८१

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया