‘दाँतकाे राम्राेसँग हेरचाह गरे धेरै राेगबाट बच्न सकिन्छ’

 चैत ७, २०७७ शनिबार १४:२२:३७ | राधा ढुङ्गाना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

आज विश्व मुख स्वास्थ्य दिवस हाे । हरेक वर्ष मार्च २० का दिन विश्वभर मुख स्वास्थ्यबारे चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

मुख स्वास्थ्य भन्नाले दाँत, गिजा, जिब्रो, चिउँडो, तालु, गालालगायत मुख वरिपरिका अङ्गलाई बुझिन्छ । समयमै उचित ध्यान नदिदा दाँत तथा मुखका सामान्य समस्याले पनि जटिलता उत्पन्न गर्ने भएकाले मुख स्वास्थ्यप्रति सजग रहनुपर्ने डाक्टरहरु बताउँछन् ।

नेपालीले मुख गन्हाउने, दाँतबाट रगत आउने, दाँत किराले खानेजस्ता समस्यालाई सामान्य जस्तै मान्ने गरेको पाइन्छ । जसका कारण मुखका समस्याले शरीरका अन्य अङ्गमा पनि रोग लाग्ने गरेको डाक्टरहरु बताउँछन् । मुटुका रोग, रक्तचाप , मधुमेहलगायत ६० प्रतिशत रोग मुखको स्याहार नगर्दा लाग्ने गर्दछन् । दाँतको सरसफाइ गर्दा ७५ प्रतिशत दन्तरोग कम गर्न सकिने हुँदा मुख स्वास्थ्यमा विशेष ध्यान दिन डाक्टर अच्युत खनाल  सुझाव दिनुहुन्छ । 

दाँतमा लाग्ने रोगहरु जस्तै, दाँत, गिजा, स्वास गन्हाउने समस्या हुनबाट जोगिन आफ्नो मुखलाई स्वस्थ बनाउनुपर्छ । यसको लागि मानिसको बानीव्यहारमा सुधार ल्याउन जरुरी छ । मुख स्वस्थ बनाउन मुख्यतः सही तरीकाले दाँत माझ्नुपर्छ । यसको लागि दिनको दुईपटक दुई/दुई मिनेट दाँत माझ्नुपर्छ । दाँतभित्र अड्किएका खानेकुराहरु निकाल्नुपर्छ । मुखको अरु भागहरु जस्तै, जिब्रो सफा गर्नुपर्छ । जिब्रोमा धेरै ब्याक्टेरिया बसेका हुन्छन् । मुखभित्र रहेका ब्याक्टेरियाले मुखमा सङ्क्रमण गराउने हुँदा जिब्रो राम्रोसँग सफा राख्नुपर्दछ ।

अर्को मुख्य ध्यान दिनुपर्ने कुरा भनेको खानेकुरा हो । स्वस्थ खानेकुरा खानुपर्दछ । भिटामिन सी भएका खानेकुराहरु जस्तै, गोलभेडा, कागती, फलफुल, सागपात, खानुपर्दछ ।  मुखलाई स्वस्थ राख्न भिटामिन बढी भएका खानेकुरा दूध, माछामासु, ग्रीन टी, फाइबर बढी भएका खानेकुराहरुमा जोड दिनुपर्ने डाक्टर अच्युत खनालको भनाइ छ । मानिसहरुलाई स्वास्थ्य सावधानीको लागि के गर्नुपर्छ भन्ने थाहा पाउँदा पाउँदै पनि हेलचेक्र्याइँ बढी हुने गरेको डा. खनाल बताउनुहुन्छ । यसबाट तत्काल असर नदेखिए पनि दीर्घकालीन् रुपमा पछि गएर समस्या देखिने गर्छ । तर मानिसहरुमा यस सम्बन्धी जानकारीको अभाव रहेको छ । 

मुखका कारणले लाग्ने अन्य रोगहरु 

मुखको कारणले गर्दा अन्य रोगहरु पनि लाग्ने हुन्छ । यस्तै पहिला कुनै रोग लागेको छ भने मुखमा समस्या हुँदा त्याे बल्झिन पनि सक्छ । जस्तै, मुखको रोग लागेको मान्छेलाई मुटु रोग लाग्ने संभावना अझै बढी हुन्छ । डा. खनाल भन्नुहुन्छ, “मुखको समस्या भएको व्यक्तिको मुटुको भल्ब बिग्रिने सम्भावना हुन्छ । त्यस्तै, हृदयघात हुने सम्भावना पनि बढी नै हुन्छ ।”  मुखको समस्या भएका व्यक्तिहरुमा फोक्सोमा समस्या, स्वास गन्हाउने, दाँत सम्बन्धी राेग, निमोनिया जस्ता समस्या पनि देखिन सक्छ ।

डा. खनालका अनुसार पछिल्लो समय नेपालमा मधुमेह रोग लागिसकेको मान्छेमा मुखको समस्या देखिने गरेको छ । मुखमा अल्सर हुने, मुखको गिजाहरुमा समस्या देखिने जस्ता समस्या मधुमेह भएका व्यक्तिहरुमा बढि देखिन्छ । सामान्य व्यक्तिहरुले भन्दा पनि दीर्घरोगीहरुले मुख स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ । कतिपय व्यक्तिले मुखको समस्याले खाना राम्रोसँग खान पनि नसक्ने अवस्थामा पुगेको पाइन्छ । अनि खाना नसक्ने कारणले विभिन्न पोषणमा कमि हुने हुन्छ र हड्डी खिइने जस्ता समस्या पनि देखिने गर्छ । मुख स्वास्थ्यको समस्या बिस्तारै देखिने हुँदा तत्काल मानिसले हेलचेक्र्याइँ  गर्ने गरेको पाइएकाले जनचेतना बढाउन आवश्यक रहेको डा. खनाल बताउनुहुन्छ । 

मुख स्वस्थ राख्न के गर्ने त ? 

मुख स्वस्थ राख्नका लागि सरकारी पक्षबाट जनचेता जगाउनु मुख्य कुरा हो । त्यस्तै व्यक्तिगत रुपमा पनि ध्यान दिनुपर्ने हुन्छ ।   

–आफ्नो जीवनशैलि र खानपानमा ध्यान दिने 
– धुम्रपान नगर्ने, मुख नियमित रुपमा सफा गर्ने गर्नुपर्छ । 
–बजारमा पाइने माउथ वास प्रयोग गरेर मुख सफा गर्ने 
– सही तरिकारले माझ्ने । 
–धेरै चिसो तथा धेरै तातो खानेकुरा नखाने  

दाँत माझ्ने सही तरिका थाहा नपाउँदा विभिन्न रोग लाग्ने गरेको छ । दाँत माझ्ने तरिकाका विषयमा जनचेतनाकाे आवश्यकता देखिन्छ ।  मानिसले दाँत त माझ्छन् तर दाँत किन माझ्ने र केका लागि माझ्ने भन्ने विषयको औचित्य पुष्टि गर्न सकेको हुँदैन । दाँत माझ्ने प्रक्रिया गलत हुँदा पनि मुख र दाँतको समस्या देखिने गरेको पाइन्छ ।

त्यसैले दाँत माझ्ने सही तरिका सिकाउन जरुरी छ । डा.खनाल भन्नुहुन्छ, 'पाठ्यक्रममा पनि यो विषय समावेश गर्न सके अझै प्रभावकारी हुने देखिन्छ । सबैभन्दा पहिले आफू सचेत हुनुपर्छ र सरकारी पक्षले पनि यसमा ध्यान दिन जरुरी छ ।' 

अन्तिम अपडेट: चैत १४, २०८०

राधा ढुङ्गाना

ढुङ्गाना उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया