प्रचण्डलाई कमल थापाकाे प्रश्न : ‘प्रधानमन्त्रीलाई गम्भीर आराेप लगाउने तर सरकारलाई दिएकाे समर्थन कायम राख्ने ?’

 चैत ९, २०७७ सोमबार १६:३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आश्चर्य लाग्ने राजनीति गरिरहेकाे बताउनुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आराेप पनि लगाउने र सरकारलाई दिएकाे समर्थन कायम राख्ने भन्दै राप्रपा अध्यक्ष थापाले प्रचण्डले 'लाजमर्दाे राजनीति' गरेकाे बताउनुभएकाे हाे ।

साेमवार सामाजिक सञ्जाल ट्विटरमा थापाले लेख्नुभएकाे छ दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केही दिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्षाैँदेखि विदेशीबाट पालित पोषित एजेन्ट'भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ । यस्तो गम्भीर आरोप लगाउने तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति ।

आइतवार माओवादी केन्द्रका अध्यक्ष दाहालले नेपालको संविधान स्वीकार गर्न नसक्ने देशी/विदेशीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रयोग गरेर संविधान र गणतन्त्र सिध्याउन खोजिएको आरोप लगाउनुभएकाे थियाे । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा दलित मुक्ति मोर्चाद्वारा आयोजित ५६ औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस (२१ मार्च) र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले यस्ताे आराेप लगाउनुभएकाे थियाे । 

उहाँले भन्नुभएकाे थियो, ‘हिजोका गणतन्त्र विरोधी, सामन्तवादका दलालहरू, देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू पनि जसले यो संविधानलाई स्वीकार्न सकेका छैनन् । विचार गर्नुहोला, ती सबै मिलेर एउटा धार बनेको छ र ती सबैले नेपालमा यो संविधानलाई निस्तेज पार्न सक्ने मान्छे खोज्दै जाँदा उनीहरूले केपी ओली भेटेका छन् । केपी ओली नै रहेछन् यो संविधान सिध्याउन सक्ने, गणतन्त्र पनि सिध्याउन सक्ने, सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई उनीहरूको हक अधिकारलाई सिध्याउन सक्ने । अहिले केपी ओलीलाई प्रतिनिधिको रूपमा त्यो धारको प्रतिगामी, प्रतिक्रान्तिकारी, निरङ्कुश, लोकतन्त्रविरोधी, समावेशी समानुपातिक विरोधी सारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई नास गर्न सक्ने पात्रको रूपमा केपीजीलाई साथ लिएका छन् उनीहरूले । कति दिन लिन्छन् मलाई थाहा छैन । अहिले चाहिँ लिएकै छन् ।’ 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया