विज्ञहरुको सल्लाह : सकेसम्म होली नखेलौँ, खेल्नै परेमा भीडभाड नगरौँ

 चैत १२, २०७७ बिहिबार ११:२८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

अघिल्लो वर्षजस्तै यसपालि पनि होलीमा सचेत हुनुपर्ने भएको छ । कोरोनाको जोखिम फेरि बढेकाले समूहमा भीडभाड हुने गरी होली नखेल्न सरकार र विज्ञहरुले आग्रह गरेका छन् । 

एकआपसमा रङ्ग लगाएर होली हेल्दा सङ्क्रमण बढ्न सक्ने भएकाले सकेसम्म होली नखेल्न उनीहरुको सुझाव छ । खेल्नै परेमा भीडभाड नगर्न विज्ञहरुले आग्रह गरेका छन् ।

होलीलाई सङ्क्रमणको माध्यम नबनाऔँ 
चक्रबहादुर बुढा, प्रवक्ता गृह मन्त्रालय 

भारतलगायत कतिपय देशमा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको छ । पहिलो चरणको सङ्क्रमण दर कम हुँदै गएको भारतमा दोस्रो लहर आएको हो । दोस्रो लहरमा कोरोनाको नयाँ भाइरस देखिएको छ । 

भारत, नेपालको छिमेकी देश भएकाले नेपालमा पनि जोखिम बढ्दै गएको छ । त्योसँगै धेरै मानिसको जमघट र  सामिप्यता हुने फागुपूर्णिमा अर्थात होली पर्व पनि नजिकिँदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले होली पर्व मनाउँदा भीडभाड नगर्न, सकेसम्मका जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै सातवटै प्रदेशलाई परिपत्र गरिसकेको छ । यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सीमानाकामा कडाइ गर्न र निगरानी बढाउन पनि निर्देशन दिइसकेको छ । 

यस्तै मानिसको जमघट हुने खालका कार्यक्रम नगर्न र होली पर्व सामान्य रुपमा मनाउनका लागि परिपत्र गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले भनेजस्तै सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, जिल्लामा रहेका सरोकारवाला निकायसँग समन्वय गरेर चेतनामूलक सन्देश प्रवाह गर्नेलगायतका काम गर्न सकेमा होली पर्वका बेलामा कोरोनाको सङ्क्रमण दर बढ्न सक्ने सम्भावित खतरालाई कम गर्न सकिन्छ । यस्तै मास्क नलगाइ हिँड्नेलाई कारबाही गर्ने, रात्रिकालीन व्यवसाय सञ्चालनमा  जिल्लाको सङ्क्रमणको अवस्थालाई हेरेर निर्णय गर्न पनि आग्रह गरिएको छ । 

कोरोनाको जोखिम बढ्न नदिनका लागि जिल्ला प्रशासन कार्यालयले आफ्नो ठाउँमा पत्राचार गर्छ । होली पर्वको अवसरमा कसैले भीडभाड हुने काम गरेमा आयोजकलाई कारबाही हुन्छ । जनस्वास्थ्यको  मापदण्डको पालना नगर्नेलाई सुरुमा सम्झाइन्छ ।  पहिलो पटक सचेत गराउँदा नमानेर दोस्रो पटक पनि नलगाएको पाइएमा प्रहरीले कारबाही  गर्छ । 

भारत लगायतका विश्वका विभिन्न परिवेशलाई हेर्दा, नेपालमा पनि कोरोनाको नयाँ स्वरूपको भाइरस भित्रिएको हुन सक्छ । त्यसैले अहिले पनि हामी सजग बन्नुपर्छ । त्यसैले आफू, आफ्नो परिवार सबैलाई सुरक्षित राख्नका लागि हरेक व्यक्तिको कर्तव्य हुन्छ । त्यसैले 'सामाजिक दूरी कायम गरौँ, पर्वलाई शान्तसाथ मनाऔँ । होलीलाई सङ्क्रमणको माध्यम नबनाऔँ ।'

एक आपसमा रङ दल्ने गर्नाले झनै जोखिम बढाउँछ
विजयकुमार झा, स्वास्थ्य निर्देशक प्रदेश २ 

कोरोना सङ्क्रमण बढेकाले भारतका  विभिन्न प्रान्तमा लकडाउन गरिएको छ ।  कतिपय ठाउँमा निषेधाज्ञा जारी गरिएको छ ।  नेपाल, भारतबीच खुला सिमाना भएकाले नेपालमा पनि जोखिम बढेको छ । तराईमा भारतबाट विवाह गरेर नेपाल आएकाहरु छन् ।

नेपालबाट विवाह गरेर भारत गएकाहरु पनि छन् । होली लगायतका चाडपर्वमा आवतजावत हुने गर्छ । त्यसले कोरोनाको जोखिम नेपालमा अझै बढ्न सक्छ । अहिले मानिसहरु कोरोना सकियो भनेजस्तै गरी हिँडिरहेका छन् । तर २/३ महिनापछि अहिले फेरि कोरोना सङ्क्रमण दर बढिरहेको छ । त्यसैले  सीमानाका  कडाइ गर्नुपर्ने अवस्था आएको छ । हेल्थ डेस्कहरु सञ्चालन गर्नुपर्छ ।  २ मिटरको दूरी कायम गर्ने, भीडभाड नगर्ने, स्यानिटाइजरको प्रयोग गर्नुका साथै सुरक्षित र व्यवस्थित पनि बनाउनुपर्छ । 

होलीको समयमा एकअर्कामा रङ दल्ने गर्नाले झनै जोखिम बढाउँछ । कोरोनालाई अहिले कन्ट्रोलमा राख्यौँ भने होली त हरेक वर्ष आइरहन्छ । अहिलेको विपद्को अवस्थामा भीडभाड गर्नु ठिक हुँदैन । एकदमै संयमित हुनुपर्छ ।

सामान्य तरिकाले  तरिकाले पर्व मनाउन सकिन्छ । घरमै बसेर, आफूआफूबीच मात्रै होली पर्व मनाउनुपर्छ । सडकमा गएर भीडभाड गरेर होली मनाउन थाल्यौँ भने त्यसले समस्या निम्त्याउँछ । कोरोनाको सङ्क्रमण दर बढ्न नदिन सरकार मात्रै होइन नागरिक पनि संयमित हुनुपर्छ । 

सीमानाकाबाट रोग आदानप्रदान हुन दिनु हुँदैन । भीडभाडलाई नियन्त्रण गर्नुपर्छ ।  कसको शरीरमा भाइरस छ, कसकोमा छैन भनेर जाँच नगरेसम्म थाहा हुँदैन । कोरोना सर्नेबित्तिक्कै लक्षण देखिँदैन । त्यसैले झन् समस्या हुन्छ । नेपालबाट भारत र भारतबाट नेपाल आउने क्रमलाई घटाउनुपर्छ ।

गएका र आएका मानिसको परिचय खुल्ने कुराहरु राख्नुपर्छ ।  स्वास्थ्य अवस्थाबारे टिपोट गर्नुपर्छ । इमर्जेन्सीबाहेक अरु गतिविधि कम गर्नुपर्ने हुन्छ । यो वर्षको होली पनि आइसक्यो । संघ, प्रदेश, नागरिक, मिडिया सबै मिलेर होलीमा बढ्न सक्ने कोरोना भाइरसको सङ्क्रमण दर रोकथामतर्फ लाग्नुपर्छ । 

आफ्नै परिवारमा बसेर सामान्य तरिकाले होली खेल्दा राम्रो हुन्छ । परिस्थितिलाई विचार गरेर होली मनाउनुपर्छ । एक आपसमा रङ दल्दा, सामाजिक दूरी कायम गर्न सम्भव छैन । त्यही भएर घरभित्र बस्ने र घरभित्रै, परिवार मिलेर होली मनाउँदा राम्रो हुन्छ ।  घरमै मिठोमसिनो पकाएर खाने, बाहिर धेरैको सम्पर्कमा नजाने गर्नुपर्छ ।  

भारत लगायत बाहिरी देशहरुबाट कोही आएका छन् भने क्वरेण्टीनमा राख्नुपर्छ । सकिन्छ भने परीक्षण गराउने, रिपोर्ट नेगेटिभ आएमा मात्र घुलमिल हुने, घरमा आइसकेको भए पनि दूरी कायम गरेर छुट्टै कोठामा राख्ने गर्नुपर्छ । त्यसो गर्नु अनादर होइन । त्यो भनेको जीवन रक्षाका लागि अपनाइएको उपाय हो । घरमा आउने पाहुनाले पनि यो उच्च कोटीको व्यवहार हो भनेर बुझ्नु पर्छ । 

सकेसम्म होली नमनाऔँ 
डा. शेर बहादुर पुन, सरुवारोग विशेषज्ञ

सकेसम्म होली मनाउँदै नमनाऔँ । यदि मनाउनै परेमा सावधानी र सचेत रहनुपर्छ ।  साथीभाइ मिलेर ख्यालठट्टा गरेर होली मनाउँदा एकजनालाई मात्र सङ्क्रमण भएको छ भने पनि अरु धेरैलाई सर्ने सम्भावना हुने भएकाले भीडभाडमा होली नमनाउँदा नै राम्रो हुन्छ । मनाउनै पर्ने भएमा स्वास्थ्य मापदण्डको पालना गर्न बिर्सनु हुँदैन ।  

भीडभाडमा गएर होली मनाउनुभन्दा दूरी कायम गरेर परिवारका सदस्यमात्र बसेर सामान्य टीकामात्र लगाएर होली मनाउनुहोला । अहिले पनि कोरोना पूर्णरुपमा निर्मूल भएको छैन । दोस्राे लहर आउनसक्ने जोखिम उत्तिक्कै छ ।

कोरोना सङ्क्रमित भएका तर लक्षण नभएका व्यक्तिहरुले परीक्षण गराएका छैनन् भने उनीहरुलाई कोरोनाको सङ्क्रमण भएको बारे थाहा हुँदैन । त्यसले गर्दा अरुलाई सर्ने सम्भावना हुन्छ । घरमा वृद्ध बुबाआमा र दीर्घरोगीलाई सार्ने सम्भावना हुन्छ । जसले समस्या निम्तिन्छ । कोरोनाको जोखिमका कारण पोहोर पनि होली खेल्न पाइएन भनेर यसपालि त जोखिम भए पनि खेल्छु भन्ने सोच्नु हुँदैन । संस्कृति मान्नुपर्छ, तर सँगै कोरोनाको कालो बादल मडारिरहेको छ भन्ने पनि बुझ्नुपर्छ । 

सावधानी सबैले अपनाउनुपर्ने हुन्छ । कसैलाई रुघाखोकी लगायतका समस्या देखिएको छ भने त झन् धेरै  सावधानी अपनाउनुपर्ने हुन्छ । लक्षण भएकाबाट अरुमा सर्ने सम्भावना पनि धेरै हुन्छ । 

यो समयमा कोरोनासँगै अरु सरुवा रोगको जोखिम पनि उत्तिक्कै हुने गर्छ । मौसमी रुघाखोकी, हावाबाट सर्न सक्ने अरु खालका सरुवा रोगको जोखिम पनि धेरै हुन्छ । होलीमा प्रयोग गरिने रङले आँखा, छाला लगायतका बाहिरी अंगसँग स्वास्थ्यका अरु कुराहरुमा पनि असर पार्ने हुन्छ ।  त्यसैले विशेष ध्यान दिनुपर्छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया