उडान खुल्यो : मौसम सुधार हुन समय लाग्ने

 चैत १३, २०७७ शुक्रबार १८:९:१५ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रतिकूल मौसमका कारण झण्डै दुई घण्टा उडान प्रभावित भएको देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही मात्रामा उडान खुलेको छ । मौसम खराबीले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएकामा केहीबेरदेखि उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलमा अहिले यान्त्रिक पद्धति (आईएफआर) बाट उडान सुरु भएको जानकारी दिनुभयो । ‘बाक्लो धुवाँसहितको तुवाँलोले भिजिविलिटी शून्य भएकाले उडान प्रभावित भयो, अहिले उडान गर्न चाहने वायु यानलाई आईएफआर उडान खुला गरिएको छ’, उहाँले भन्नुभयो ।

विमानस्थलको भिजिविलिटी कम हुँदा आन्तरिकतर्फ आठ जहाज अन्यन्त्र मोडिएका छन् । अन्तर्राष्ट्रियतर्फ एक जहाज भारतको दिल्ली मोडिएको महाप्रबन्धक तिवारीले बताउनुभयो । उहाँका अनुसार नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) र हिमालय एअरलाइन्सको जहाज अवतरण भएको छ ।

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो देखिएको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै 

शुक्रवार (आज) नेपाल तथा भारतका केही ठाउँमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको बताउनुभयो । 

उहाँका अनुसार अझै तीन दिनसम्म पानी पर्ने छैन । मौसम सफा हुन डढेलो कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न पनि सकिने अवस्था छैन । नेपालका मकवानपुर, चितवन, पर्सालगायत जिल्लामा डढेलो लागेको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया