‘वायु प्रदूषण केही समयसम्म रहन सक्छ’

 चैत १५, २०७७ आइतबार १९:३८:२ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डाै उपत्यकालगायत देशका धेरैजसाे ठाउँमा शुक्रवारदेखि देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ ।

वायु प्रदूषण मौसममा पनि भर पर्छ । मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत हुने सम्भावना रहेको विज्ञहरूले बताएका छन् । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ । यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रस्वाससम्बन्धी बिरामी र मुटुका रोगी बढी प्रभवित हुने भएकाले विभागले विशेष सावधानी अपनाउन अपिल गरेको छ ।

विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले सकेसम्म सबै उमेर समूहका नागरिकलाई सम्भव भएसम्म घरबाहिर नकिस्कन, निस्कनै पर्ने अवस्थामा विशेष सावधानी अपनाउन आग्रह गर्नुभएकाे छ । आगो बाल्दासमेत वायु प्रदूषण झनै बढ्ने भएकाले फोहर बाल्ने र खुलारूपमा आगो बाल्ने कार्य नगरिदिन, विद्युतीय सवारी साधनबाहेकका अन्य सवारी साधन कम प्रयोग गर्न विभागले आग्रह गरेको छ ।

शुक्रवारयता काठमाण्डाै उपत्यकालगायतका ठाउँकाे वायु प्रदूषण सूचक (एक्यूआई) ३०० को हाराहारी रहेको छ । विभागका अनुसार मानव स्वास्थ्यका लागि शून्यदेखि ५० सम्मको एक्यूआई राम्रो, ५० देखि १०० सम्म सामान्य तथा १०० देखि माथिको तहलाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो लागेको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै तीन दिनदेखि नेपाल तथा भारतका केही ठाउँमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको जानकारी दिनुभयो । उहाँका अनुसार मौसम सफा हुन डढेलो कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न सकिने अवस्था छैन ।

विभागकै मौसमविद् मञ्जु बासीले डढेलोका कारण वायुमण्डलमा असर परेको र बाक्लो तुवाँलो लागेको बताउनुभयो । ‘वायुमण्डल स्थिर छ, हावा तलमाथि भएको छैन, त्यसैले उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढाकेको छ । बेगले हावा चलेको भए तुवाँलो छरिन्थ्यो र बिस्तारै आकाश खुल्ने थियो, त्यो देखिँदैन । मङ्गलबारदेखि काठमाण्डाैकाे आकाश खुल्ने अनुमान गरिएको छ’, उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया