निर्मलाको हत्यारालाई प्रहरीले उन्मुक्ति दिन खोजेको भन्दै स्थानीयको विरोध

 भदौ ५, २०७५ मंगलबार १२:२४:५९ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – प्रहरीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई जोगाउन प्रयास गरेको भन्दै स्थानीयबासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले घटनामा संलग्न व्यक्तिलाई उन्मुक्ति दिन बलात्कार र हत्याको  अभियोगमा मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको भन्दै मंगलबार महेन्द्रनगर बजार बन्द गराएका छन् ।

१३ वर्षीय निर्मलाको हत्या भएको तीन सातासम्म अभियुक्त प्रक्राउ गर्न नसकेपछि चर्को विरोध भएको थियो । तीन दिनदेखि जिल्लास्थित महिला अधिकारकर्मीले समेत जिल्ला प्रशासन कार्यालय अगाडि रिने अनशन गर्दै आएका छन् । मानव अधिकार आयोगले समेत घटनाको अनुसन्धान थालेको छ । 

प्रहरीले निर्मलाको बलात्कार गरी हत्या गरिएको अभियोगमा भिमदत्त नगरपालिका १९ का अन्दाजी ४१ वर्षीय दीलिप सिंह विष्टलाई शनिबार पक्राउ गरी सोमबार पत्रकार सम्मेलन गरी र्साजनिक गरेको थियो ।

अभियुक्त पक्राउका लागि बढ्दो दवाव निस्तेज पार्न प्रहरीले मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको स्थानीयको आरोप छ ।बलात्कार र हत्या आरोपमा प्रहरीले मानसिक सन्तुलन गुमाएका विष्टलाई व्यक्तिलाई पक्राउ गरेर वास्तविक अपरधीलाई जोगाउन प्रयास गरेको स्थानीयको आरोप छ ।

प्रहरीले निर्मलाको बलात्कार गरी हत्यामा संलग्न व्यक्तिलाई जोगाउन निर्दोष व्यक्तिलाई पक्राउ गरेका भिमदत्त २ का गगन नेगीले बताउनुभयो । उनीहरुले घटनाको ढाकछोप गर्न मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई प्रहरीले प्रक्राउ गरेर सार्वजनिक गरेको भन्दै मंगलबार बजार क्षेत्र बन्द गराउनुका साथै राजमार्ग समेत बन्द गराएका छन् ।

प्रहरीले विष्टले निर्मलाको हत्या गरेको अभियोग लगाएर उनीमाथी प्रारम्भीक अनुसन्धान भइरहेको बताए पनि आरोपी विष्टले भने आफूलाई फसाउन खोजिएको जिल्ला अदालतमा बयान दिएका थिए । उनलाई अनुसन्धानका लागि भन्दै १० दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । निर्मलाको बलात्कार र हत्या कहाँ र कसरी भयो भन्नेबारे प्रहरीले अझै खुलाउन सकेको छैन् ।

यस्तो छ प्रहरीको दाबीमा शंका गर्नुको कारण

प्रहरीले निर्मलाको बलात्कार र हत्यामा संलग्न भनिएका विष्टको मानसिक अवस्था ठिक नरहेको स्थानीय बताउँछन् । उनी आपराधिक पृष्ठभूमिकै भए पनि निर्मलाको बलात्कार र हत्यामा उनको संलग्नता स्थानीयका लागि अपत्यारिलो कथा बनेको छ ।

साथीको घर गएकी निर्मलाको शव मुल बाटोबाट डेढसय मिटरजति भित्र उखुबारीमा फेला परेको थियो भने साइकल सय मिटरको दूरीमा फेला परेको थियो ।

निर्मलालाई मानसिक सन्तुलन ठिक नभएका व्यक्तिले मुल सडकबाट डेढ सय मिटर भित्र कसरी लगे ? भन्ने प्रश्नको जवाफ प्रहरीले दिन सकेको छैन ।
त्यस्तै साइकलसहित रहेकी निर्मलालाई मुलसडकबाट उखुबारीसम्म त्यति सहजै लैजान सक्यो वा एकजनाको मात्र प्रयासमा उक्त घटना भयो भन्नेबारे स्थानीयले विश्वास गर्न सकिरहेका छैनन् ।  
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया