‘जेठ–असारमा कोरोना सङ्क्रमण दर उच्च विन्दुमा पुग्न सक्छ, स्वास्थ्य मापदण्ड पालना गराैँ’

‘पहिलो खोप लगाएकाहरूको दोस्रो डोज सुरक्षित छ, हल्लाकाे पछि नलाग्नुस्’

 चैत २३, २०७७ सोमबार १७:३४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले आउँदो जेठ र असारमा कोभिड–१९ सङ्क्रमणको दर उच्च विन्दुमा पुग्न सक्ने भन्दै स्वास्थ्य मापदण्डलाई पालना गर्न सबैलाई आग्रह गरेको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा सरकारको तर्फबाट कोभिड नियन्त्रणका लागि भएका पहलकदमीबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गर्नुभएको हो । पछिल्लो समय कोभिड सङ्क्रमितहरू बढ्दै गएको र छिमेकी देश भारतमा पनि बढ्दो दरमा रहेकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना नगरे जेठ, असारमा फेरि उच्च दरमा पुग्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कात्तिक पछाडिका दिनहरूमा सङ्क्रमण क्रमशः घट्दै गएर माघको पहिलो साता देखि निकै कम भइ सकेकोमा फेरि सङ्क्रमण बढ्दै गइरहेको छ । अबका दिनमा स्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने सङ्क्रमण बढ्दै जेठ, असारमा अर्को उच्च विन्दुमा पुग्न सक्ने देखिन्छ । छिमेकी देश भारतमा फागुन १७ गते सङ्क्रमितको सङ्ख्या ११ हजार पाँच सय ६३ बाट बढेर चैत २२ गते ९२ हजार नौ सय पुगेको स्थितिले हामीलाई थप सर्तक र सचेत बनाएको छ । कोभिड नियन्त्रणका लागि आवागमनलाई थप व्यवस्थित गर्दै रोगको शीघ्र पहिचान, आइसोलेशन र शङ्कास्पद व्यक्तिलाई अनिवार्य क्वरेण्टीन र जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सकेमा महामारीलाई नियन्त्रणमा राख्नुका साथै समयका हिसाबले पर धकेल्न सकिने हुँदा यसतर्फ सबैको ध्यान जरुरी छ ।’ 

उहाँले महामारी नियन्त्रणका लागि सरकारले समयमै आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरेको स्पष्ट पार्नुभयो । मन्त्री त्रिपाठीले गएको पुस २० गते नै कोभिड–१९ खोप प्राप्ति र कार्यान्वयनका लागि सरकारले सबै आवश्यक निर्णयहरू गरेको बताउनुभयो । खोपको आपत्कालीन प्रयोगको अनुमति प्राप्त गरी आवश्यक कानुनी व्यवस्था गर्न औषधि तेस्रो संशोधन अध्यादेश २०७७ जारी गरिएको उहाँले स्पष्ट पार्नुभयो । तर अध्यादेश संसद्को पहिलो बैठकमा पेस हुन नसकेको तर्फ उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

मन्त्री त्रिपाठीले दिनुभएको जानकारीअनुसार चैत २२ गतेसम्म २२ लाख ८५ हजारभन्दा बढीको नमुना परीक्षण गरिएको छ । दुई लाख ७७ हजार बढी सङ्क्रमितको पहिचान र उपचार गरिएको छ । पहिचान भएका संक्रमित मध्ये ९८ प्रतिशत निको भइसकेका छन् । तीन हजार ३२ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । नेपालमा कोभिडका कारण ज्यान गुमाउनेको दर १ दशमलव १ प्रतिशत रहेको छ । गएको कात्तिकमा सङ्क्रमणको दर उच्च रहेको थियो । पछिल्लो परिणामले बिस्तारै पोजेटिभका घटना बढ्दै गएको मन्त्री त्रिपाठीले सङ्केत गरेको बताउनुभयो । 

सरकारले महामारी रोकथामका लागि वैज्ञानिक यथार्थपरक नीतिहरू तर्जुमा गरी बहुक्षेत्रीय सहयोग र समन्वय गर्दै आएको पनि उहाँले स्पष्ट पार्नुभयो । नेपाल सरकारको नेतृत्वमा प्रदेश सरकार र सबै पालिका सरकारहरूको समन्वय, सहयोग तथा सहकार्यले गर्दा कोभिडका कारण ज्यान गुमाउने तथा सङ्क्रमण हुनेको दरलाई कम गर्न सकिएको बताउनुभयो । उहाँले कोभिड–१९ शताब्दीकै प्रमुख चुनौतीको रूपमा रहेको र त्यसले मानव स्वास्थ्यसँगै अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको उल्लेख गर्नुभयो ।

मन्त्री त्रिपाठीले देशभरका प्रयोगशालाको स्थिति, कोभिड उपचारका लागि भएका व्यवस्था, क्वरेण्टीनलगायत बारे पनि विस्तृत जानकारी गराउनुभएको थियो । उहाँले कठिन समयमा पनि सरकारले औषधि औजार अभाव हुन नदिएको भन्दै त्यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभयो । 

खोपको दोस्रो डोज भण्डारणमा छ, असारभित्र ६० लाखलाई खोप लगाउने तयारी

स्वास्थ्य मन्त्री त्रिपाठीले असारभित्र ६० लाख मानिसलाई कोभिड–१९ विरुद्धको खोप लगाउन प्रयासरत रहेको बताउनुभयो । उहाँले पहिलो खोप लगाएकाहरूको दोस्रो डोज सुरक्षित रहेकाले प्रचारका पछाडि नलागी विश्वस्त हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,  ‘चैत २२ गतेसम्मको तथ्याङ्क हेर्दा जम्मा १८ लाख ६ हजार सात सय ८१ जनाले कोभिड–१९ विरुद्धको प्राप्त गरिसकेका छन् । पहिलो चरणमा पहिलो मात्रा प्राप्त गरिसकेका व्यक्तिहरूलाई २०७८ वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो मात्रा प्राप्त गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा लगाएकाहरूको खोप सुरक्षित छ, त्यो लगाइएको छैन, भण्डारणमा छ । अन्यथा प्रचार प्रसारमा पर्नु जरुरी छैन ।’ 

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अहिलेसम्म पाँच अर्ब १७ करोड ७२ लाख ८३ हजार खर्च भएको पनि उहाँले जानकारी दिनुभयो । पीसीआर, किट, गाउन, औषधि, उपकरण व्यवस्थापन, खोप खरिद, अभियान, स्वास्थ्यकर्मीको जोखिम भत्तालगायत विभिन्न विषयअन्तर्गतको खर्च यसमा समेटिएको छ । मन्त्री त्रिपाठीले दिएको जानकारीअनुसार दुई अर्ब ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । कोभिड नियन्त्रणका लागि भएका खर्चबारे श्वेत पत्र जारी गर्न आफू र मन्त्रालय तयार रहेको पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया