वायु प्रदूषण उस्तै, तत्काल सुधार नहुने संकेत

 चैत २५, २०७७ बुधबार ८:१३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालको वायु प्रदूषण तत्काल सुधार नहुने भएको छ । काठमाण्डाैसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न थालेको र तत्काल सुधार हुने सम्भावना नदेखिएको वातावरण विभागले जनाएको छ ।

काठमाण्डौ अहिले पनि विश्वकै प्रदूषित सूचीको एक नम्बरमा रहेको छ । काठमाण्डाैको कीर्तिपुर, रत्नपार्क, भक्तपुर, भैंसेपाटीलगायत ठाउँसहित चितवनको भरतपुर, धनगढीलगायत ठाउँहरुमा वायु प्रदूषण उच्च रहेको छ । नेपालको वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई अहिले पनि ३ सयभन्दा माथि रहेको विभागले जनाएको छ । ३ सयभन्दा माथि एक्यूआई हुनुलाई अति हानिकारक मानिन्छ ।

वायु प्रदूषण फेरि बढेसँगै यसले श्वासप्रश्वासमा समस्या हुने लगायत स्वास्थ्यमा समस्या देखा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन जन-स्वास्थ्यविद्ले आग्रह गरेका छन् । काठमाण्डौसहित देशका विभिन्न ठाउँमा तुवाँलो लागेजस्तो भएर वातावरण धुमल्लिएको छ । गर्मी बढेको तर पानी नपरेकोले सुक्खापन धेरै हुँदा देशका विभिन्न जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएको विज्ञहरूले बताउँदै आएका छन् ।

अहिले पनि झण्डै डेढ सय ठाउँमा आगलागी भइरहेको वन तथा भू संरक्षण विभाग अन्तर्गतको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले जनाएको छ । सबैधन्दा धेरै डोटीमा १३ ठाउँमा र प्युठानमा १० ठाउँमा डढेलो लागेको छ ।

यसैबीच, अहिले तराई र पहाडी भूभागका धेरैजसो ठाउँमा तुवाँलो लागेको छ । धेरैजसो ठाउँमा तुवाँलो लागेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै ठाउँ र बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने र हिमपातकोसमेत सम्भावना रहेको छ ।

यस्तै आज पहाडी जिल्लाका केही ठाउँमा मेघगर्जन र चट्याङ्सहित हल्का पानी पर्ने सम्भावना रहेको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशलगायत अरु केही पहाडी क्षेत्रमा मौसम आंशिक देखि सामान्य बदली भइरहेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया