यो वर्ष नेपालमा इतिहासकै धेरै डढेलो, हिमालको हिउँ घट्नेसम्मको जोखिम

 चैत ३०, २०७७ सोमबार ७:५३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यो वर्ष नेपालमा इतिहासकै धेरै डढेलो लागेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको कात्तिक महिनादेखि हिजोसम्म देशभरका ४ हजारभन्दा धेरै ठाउँमा डढेलो लागेको छ ।

यो सङ्ख्या नेपालमा डढेलोको रेकर्ड राख्न थालेयताकै सबैभन्दा धेरै भएको प्राधिकरणका उपसचिव सुन्दर शर्माले उज्यालोलाई जानकारी दिनुभयो । यसपटक सात प्रदेशका ७७ वटै जिल्लामा डढेलो लागेको छ ।

डढेलोबाट पाँच जनाको ज्यान गएको छ भने हजारौँ पशुपक्षी तथा हजारौँ हेक्टर जमिनमा क्षति पुगेको छ । कति क्षेत्रफल जमिनमा डढेलो लाग्यो भनेर तथ्याङ्क सङ्कलनको काम भइरहेको पनि उपसचिव शर्माले बताउनुभयो ।

६० प्रतिशत ठाउँमा मान्छेले जानाजान डढेलो लगाएको, ३० प्रतिशत ठाउँमा लापरबाहीका कारण र १० प्रतिशत ठाउँमा सतर्कता अपनाउँदा अपनाउँदै पनि डढेलो लाग्ने गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । नयाँ घाँस पलाउने आशामा नागरिकले डढेलो लगाउँदा त्यसले ठूलो क्षति निम्त्याइरहेको पोखरेलको भनाइ छ ।

यसपटकको इतिहासकै धेरै डढेलो लाग्नुमा मानवीय लापरबाही देखिएकाले जानाजान डढेलो लगाउनेलाई तत्कालै कारबाही गर्ने पनि उहाँले चेतावनी दिनुभयो । सहर नजिकै र मानवीय तथा भौतिक क्षति धेरै हुने ठाउँमा हेलिकप्टरबाट पानी खन्याएर डढेलो नियन्त्रणको अभ्यास सुरु गरिएको र यसलाई निरन्तरता दिइने पनि सीईओ पोखरेलले जानकारी दिनुभयो ।

हिजो शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो सेना,प्रहरी, स्थानीय बासिन्दा, दमकल र हेलिकप्टरको सहायतामा नियन्त्रणमा आएको थियो । सम्भव भएसम्म जङ्गलको डढेलो नियन्त्रणमा पनि दमकल र हेलिकप्टरको प्रयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएको जानकारी दिँदै पोखरेलले स्रोत साधनले भ्याएसम्म दमकल र हेलिकप्टरको प्रयोग बढाउँदै लगिने बताउनुभयो ।

डढेलोका कारण वन मासिने, वन्यजन्तु लोप हुने, र बाक्लो तथा हानिकारक धुवाँका कारण हिमालको हिउँ समेत छिटै पग्लने जस्ता गम्भीर र दीर्घकालीन असरको जोखिम रहेको पोखरेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया