बोडेमा जात्रा नरोकिने, आठौं पटक बुद्धकृष्णले जिब्रो छेड्ने

 चैत ३०, २०७७ सोमबार १०:३३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठाैं पटक बोडेका ४८ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेड्ने छन् ।

गएकाे वर्ष काेराेनाका कारण रोकिएको यस जात्राले याे वर्ष निरन्तरता पाउने भएपछि जिब्रो छेड्न उहाँ तयार हुनु भएको हो ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकको रुपमा कार्यरत उहाँले कोरोना महामारी सुरु भएसँगै गएकाे वर्षदेखि कोभिडका बिरामी मात्रै बोक्ने आइसोलेटेड एम्बुलेन्स चलाएर कोरोना सङ्क्रमितको सेवा गर्दै आउनु भएको छ ।

बुद्धकृष्णले भन्नुभयो, 'म मानवीय सेवा र कला संस्कृतिको संरक्षणमा लाग्दै आएको छु । मैले गएकाे वर्ष कोरोनाका कारण जात्रा रोकिएकाले जिब्रो छेड्न पाइन । यस वर्ष वैशाख २ गते आठौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने निर्णय गरेको छु ।'

मध्यपुरथिमि नगरपालिकाले यस वर्ष बिस्केटका कुनै पनि जात्रा र पर्व नरोकिने सूचना जारी गरेपछि मध्यपुरथिमिमा मनाइने सबै जात्रा सञ्चालन हुने भएका हुन् ।

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोनाको बाहानामा यस वर्ष यहाँका कुनै पनि जात्रा पर्व नरोकिने बताउँदै सबै जात्रामा उत्साहित र भव्य रुपमा मनाउन नागरिकलाई आह्वान समेत गर्नु भएको छ । 

नगर प्रमुख श्रेष्ठले भन्नुभयो, 'यस वर्ष कुनै जात्रा रोकिँदैन, नेवार समुदायको कला, संस्कृति र इतिहास बोकेको जात्रा पर्व कुनै बाहानामा रोकिनु हुँदैन । प्रशासनले रोक्न खोजे प्रतिकार गर्छौँ। थिमिको सबै जात्रा यथावत रुपमा चल्छ र चलाउँछौँ ।'

नगरपालिकाले जात्रा नरोक्ने भएपछि बुद्धकृष्णले जिब्रो छेड्न आवश्यक तान्त्रिक विधि पूरा गर्दै आएका छन् । यस्तै, १० इन्च लामो सुइरो बनाएर कर्मी नाइकेले तेलमा डुबाएर राखेका छन् । 'परापूर्वकालदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा सयौँ वर्षदेखि अहिलेसम्म देशमा जस्तोसुकै सङ्कट आउँदा पनि रोकिएको थिएन । गएकाे वर्ष रोकियो, अब रोक्दैनाैँ' बुद्धकृष्णले भन्नुभयो ।

जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचौं गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनहरुको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि त्यस सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । अहिलेसम्म १२ जनाबाट निरन्तर १०६ वर्ष जिब्रो छेडेका छन् । २०७६ साल सम्ममा सात पटक जिब्रो छेड्नु भएका बुद्धकृष्णले यसवर्ष आठौँ पटक जिब्रो छेड्ने भएका हुन् ।      

धेरै वर्ष अगाडिदेखि निरन्तर रुपमा जिब्रो छेड्ने जात्रा सञ्चालन भएको र देशमा जस्तोसुकै सङ्कट आउँदा पनि कुनै पनि साल यो जात्रा नरोकिएको आठ पटक जिब्रो छेडाएका जुजुभाई बाँस श्रेष्ठले बताउनुभयो ।

यसवर्ष जात्राले निरन्तरता पाउनुले यहाँका बासिन्दामा खुसी आएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया