पोखराको सेती खोचमा नयाँ बन्जी, हिमाल हेर्दै जम्प गर्न पाइने

 चैत ३१, २०७७ मंगलबार १४:४१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पर्यटकीय सहर पोखरामा अर्को नयाँ बन्जी थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालीले पोखरा १७ रातोपैरा (माउन्टेन म्युजियमको आडैमा) बनाएको बन्जीको सफल परीक्षण गरिएको छ ।

लेक साइडबाट झण्डै तीन किलोमिटर दुरीमा रहेको बन्जी नयाँ वर्षसँगै व्यावसायिक रूपमा सञ्चालनमा आउने बताइएको छ । सन्तोष भट्टराई अध्यक्ष रहेको कम्पनीमा राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, भूपालबहादुर बराल क्षेत्रीको आठ करोड २५ लाख रुपैयाँ लगानी रहेको छ ।

अध्यक्ष भट्टराईले न्युजिल्यान्ड, जापान, मकाउलगायत देशमा बन्जी मास्टरको रूपमा लामो समय काम गरी स्वदेश फर्केर अहिले आफ्नै साथीहरूको समूह बनाएर बन्जीमा लगानी गर्नुभएको हो । 

 

क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको छ । सेती नदीको खोचमा बनेको र फराकिलो हिमशृङ्खला हेर्दै जम्प गर्न पाइने भएकाले बन्जीमा आकर्षण बढ्ने भट्टराईको दाबी छ । दुई फरक उचाइमा जम्प गर्ने नेपालको पहिलो जम्प साइट भएको भट्टराईले बताउनुभयाे । 

साधारण बन्जी १०१ मिटर अग्लो प्लेटफर्मबाट गराइने र साइकल जम्प, बकेट जम्पलगायत विशेष जम्प १०५ मिटर अग्लो प्लेटफर्मबाट गराइने अध्यक्ष भट्टराईले जानकारी दिनुभयाे । बन्जी आईएसओ स्टाण्डर्डमा निर्माण गरिएको भट्टराईको दाबी छ ।

अन्तर्राष्ट्रियस्तरमा बन्जीको लोकप्रिय नाम ‘गो बन्जी’ सँगको फ्रेन्चाइज भएकाले गो बन्जीकै प्राविधिक सहयोगमा आईएसओ स्ट्यान्डर्ड अनुसार तयार गरिएको भट्टराई बताउनुहुन्छ । एड्भेन्चर भएकाले सुरक्षा सावधानीमा जोड दिँदै पेट्जल र मामुट कम्पनीका हार्नेस लगायतका उपकरण प्रयोग गरिएको भट्टराईले बताउनुभयाे ।  

परीक्षणको पहिलो जम्प गो बन्जी (बन्जी जापान) का संस्थापक बीउ रिटालिकले गर्नुभएकाे छ । रिटालिकसँगै बन्जीको सञ्चालनका लागि जापानबाट बन्जी जापानकै जनरल म्यानेजर डेबिड पनि पोखरा आइपुग्नुभएकाे छ । 

बन्जीकै लागि बनाइएको ३५ मिटर अग्लो टावरमा नेपालमै पहिलो र एसियाकै अग्लो टावर क्लाइम्बिङ सुरु गरिएको भट्टराईले बताउनुभयो । बन्जी परिसरमै रेस्टुरेन्टसमेत निर्माण भएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया