फाेहरलाई माेहरमा बदल्दै घोराही उपमहानगरपालिका, घर–घरमा ग्यास पुर्‍याइने याेजना

 बैशाख ३, २०७८ शुक्रबार १२:१:४२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराही उपमहानगरपालिकाले फाेहरलाई मोहरमा बदल्न थालेको छ ।

महानगरपालिकाले गल्नेबाट ग्यास र मल बनाउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ भने नगल्ने फाेहर खरिद गर्ने अभियान सुरु गरेको हाे ।

घोराही उपमहानगरपालिका-१६ करौटीडाँडाको गरुवागाउँमा खाना पकाउने ग्यास उत्पादनको तयारी थालिएको छ । २०७५ साल मंसिर ५ गते त्रिपक्षीय सम्झौता गरेर आउँदाे असार मसान्तसम्म ग्यास उत्पादन गर्ने गरेर काम तीव्ररुपमा अघि बढेको छ ।

घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीबीचको त्रिपक्षीय सहकार्यमा फाेहरबाट ग्यास उत्पादन गर्न भौतिक पूर्वाधार निर्माणपछि अहिले मेसिन जडानको काम समेत सकिएको बायो ग्यास उत्पादन परियोजनका प्रशासन अधिकृत शारदा शर्माले जानकारी दिनुभयो । अहिले ग्यास प्लान्टको ९० प्रतिशत काम सकिएको र आउँदाे असार मसान्तसम्म पाइपलाइन मार्फत ग्यास वितरण गरिने उहाँको भनाइ छ ।

झण्डै एक हजार ६ सय घरमा पाइप लाइनमार्फत खाना पकाउने ग्यास वितरण गर्ने योजनाका साथ टोल विकास संस्था मार्फत स्थानीयहरुले फारम भर्ने काम गरिरहेका छन् । त्यस ग्यास उद्योग क्षेत्रका बस्ती र नारायणपुर बजार क्षेत्रमा वितरण गर्ने गरी तयारी थालिएको अधिकृत शर्माले बताउनुभयो ।

घर घरमा पाइपमार्फत ग्यास जोड्ने र मिटर चलेअनुसार रकम घर धनीले बुझाउने व्यवस्था गरिएको उहाँको भनाइ छ । प्लान्ट सञ्चालनका लागि दैनिक ३० मेट्रिक टन गल्ने फाेहर आवश्यक पर्ने छ । प्लान्ट स्थापनाका लागि घोराही उपमहानगरपालिकाले झण्डै ३ बिगाह जमिन २० वर्षका लागि उपलब्ध गराएको छ । 

पाइप लाइनबाहेक २० करोड रुपैयाँमा बनाउने गरी आयोजना सञ्चालन गरिएको हो । जसमा ४ करोड रुपैयाँ वैकल्पिक उर्जा विकासमार्फत विश्व बैंकको अनुदान रहेको छ भने बाँकी रकम नेपाल उर्जा विकास कम्पनीको रहेको छ ।

ग्यास उत्पादन भइसकेपछि दैनिक ७ हजार चार सय किलो प्राङ्गारिक मल समेत उत्पादन गर्ने लक्ष्य लिइएको छ । त्यस मललाई प्याकेजिङ गरेर बिक्री गर्ने योजना रहेको छ ।  सम्झौता अनुसार २० वर्षपछि चालु अवस्थामै प्लान्ट घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी प्लान्टले कम्पनीको कुल नाफाको एक प्रतिशत रकम उपमहानगरपालिकालाई बुझाउने समेत सहमति भएको उहाँको भनाइ छ ।

फाेहर दिनुहाेस्, पैसा लिनुहाेस्

घोराही उपमहानगरपालिकाले पूर्ण सरसफाइयुक्त नगर बनाउन नगल्ने फाेहरलाई खरिद गर्न थालेको छ ।

नयाँ वर्ष २०७८ को शुभारम्भसँगै उपमहानगरले नगल्ने फाेहरलाई मोहरमा बदल्ने अभियानको थालनी गरेको हो ।

योसँगै उपमहानगरले गल्नेबाट ग्यास र नगल्ने फाेहरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउने कार्यक्रमको सुरुवात गरेको हो । उपमहानगरपालिकाले प्लाष्टिक, कपडालगायतका फाेहर खरिद गर्न थालेको छ। उपमहानगरको सरसफाइ व्यवस्थापन शाखाले बुधवार नयाँ बसपार्कमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले नगल्ने फाेहर खरिद गर्ने अभियानको सुरुवात गर्नुभएको हो ।

पानीको बोतल प्रतिकिलो १० रुपैयाँ, सुर्तीजन्य वस्तुका खोल २ रुपैयाँ, कपडाका टुक्रा ५ रुपैयाँ र गत्ता तथा कार्टुनलाई १० देखि २० रुपैयाँ सम्म प्रतिकिलो खरिद गर्ने निर्णय भएको उपमहानगरले जनाएको छ । कार्यक्रममा नगर प्रमुख चौधरीले गल्ने र नगल्ने फाेहरलाई पैसामा बदल्ने र पूर्णसरफाइयुक्त नगर बनाउने योजना रहेको बताउनुभयो ।

नागरिकहरुबाट फाेहर लिने र नगरले पैसा दिने गरी पूर्णसरसफाइ अभियानलाई अघि बढाइएको उहाँको भनाइ छ । सरसफाइ व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा शाखा प्रमुख अरुण अधिकारी, साहित्यकार डा. लोकराज पराजुली, सरसफाइ निरीक्षक हर्कबहादुर वलीलगायतले फाेहरको उचित व्यवस्थापन र आम्दानीसँग जोड्ने अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो।

ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने भएपछि फाेहर व्यवस्थापनमा समेत सहजता हुने अपेक्षा गरिएको छ। साथै सरसफाइ व्यवस्थापनसँगै फाेहर खरिद गर्ने अभियानलाई प्रभावकारी बनाउन उपमहानगरपालिकाले खर्कसिंह पुन, भक्तबहादुर डाँगी र रामप्रसाद पुनलाई सरसफाइ स्वयम् सेवकको जिम्मेवारी दिएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • आश कुमार घर्ति मगर

    April 17, 2021, 7:19 a.m.

    यस्तै कार्य सरकारले देशको ठाँउ ठाँउमा निर्माण गर्यो भने आर्थिक उपार्जन पनि हुने, सफा पनि हुने हुन्छ , यस्तै काम जारी रहोस /

  •  0 Reply

तपाईको प्रतिक्रिया