दक्षिणी ललितपुरमा असिना पानी

 बैशाख ३, २०७८ शुक्रबार १४:४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यकाकाे दक्षिणी ललितपुरसहित प्रदेश एक र गण्डकी प्रदेशमा असिनासहितको पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी र प्रदेश नम्बर एकको पहाडी ठाउँहरूमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् राजु प्रधानाङ्गले देशका धेरैजसो पहाडी भू–भागमा शुक्रवार बेलुकीपछि पानी पर्ने सम्भावना रहेको बताउनुभयो । बिहीवार राति पनि देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ परेको थियो । वाग्मती, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश १ र २ मा ठूलो हावाहुरी चलेको थियो ।

अहिले प्रि–मनसुन सक्रिय भएकाले हुरी चलेको मौसमविद्ले बताएका छन् । नेपालमा गएको मार्च महिनादेखि नै प्रि–मनसुन भित्रिएको भए पनि सक्रिय हुन सकेको थिएन । यसले गर्दा मौसम धुम्म हुने गरेको थियो ।

अबको केही दिन भने प्रि–मनसुन सक्रिय देखिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । तर प्रि–मनसुन सक्रिय भए पनि पानी पर्ने गरी प्रणाली नबनेकाले ठूलो हुरी चले पनि वर्षाको सम्भावना भने खासै छैन ।

यस्तै शुक्रवार र शनिवार पनि बेलुकापछि ठूलो हुरीबतास चल्ने अनुमान गरिएको छ । मौसमविद् मानन्धरका अनुसार अबका केही दिन ठूलो हुरीबतास चल्ने सम्भावना छ तर पानी भने हल्का मात्रै पर्नेछ । प्रि–मनसुनमा दिउँसोपछि मौसम बद्ली भइ हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्ने हुन्छ ।

बिहीवार रातिको ठूलो हुरीले वायुमण्डलमा थुप्रिएका धुलोका कणलाई केही उडाए पनि पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण फेरि बढ्ने सम्भावना छ  । तुवाँलो, धुँवा, धुलो र डढेलोका कारण वायु प्रदूषण बढेकाले पानी नपरेसम्म पूर्णरूपमा वायुमण्डल सफा नहुने मौसमविद्को भनाइ छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया