चीन र उत्तर कोरियाबाट देखिएका चुनौतीको सामना गर्न अमेरिका र जापानबीच सहमति

 बैशाख ५, २०७८ आइतबार ९:२८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वव्यापी चुनौतीको सामना गर्न सहकार्यलाई निरन्तरता दिने अमेरिका र जापानबीच सहमति भएको छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री योशीहिदा सुगाले क्षेत्रीय तथा विश्वव्यापी चुनौतीहरूको सामना गर्न दुई देशको गठबन्धनलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

बाइडेन-सुगा भेटपछि ह्वाइट हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेनले दुवै पक्ष अमेरिका-जापान गठबन्धन, कोरोना महामारी, नयाँ प्रविधि, जलवायु परिवर्तन र सहकार्यको लागि सहयोग पुर्याउन सहमति भएको बताउनुभयो । बाइडेनले चीन र उत्तर कोरियाबाट देखिएका चुनौतीको सामना गर्न अमेरिका र जापानले मिलेर काम गर्ने पनि बताउनुभएको छ ।

जापानी प्रधानमन्त्री सुगाले पनि आफू र बाइडेनबीच प्रशान्त महासागर क्षेत्र र विश्वको समृद्धिमा चीनको प्रभावबारे छलफल गरेको पुष्टि गर्नुभएको छ । उहाँले चीनसँग खुलारूपमा कुराकानी गर्न सहमत भएको पनि बताउनुभयो । पत्रकार सम्मेलनपछि निकालिएको संयुक्त विज्ञप्तिबारे चीनले चासो व्यक्त गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लिचियानले आन्तरिक मामिलामा हस्तक्षेप र कसैप्रति लक्षित गरी समूह नबनाउन आग्रह गर्नुभएको छ । साथै उहाँले जापान र अमेरिकाले चीनको चिन्ता र मागलाई गम्भीरताका साथ लिनुपर्ने प्रतिक्रिया दिनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया