आकाश खुल्यो तर प्रदूषण उस्तै

 बैशाख ५, २०७८ आइतबार ११:८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका धेरैजसो ठाउँमा मौसम सफा भएसँगै आकाश खुलेको छ ।

अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिमका उत्तरी क्षेत्रको आकाशमा मात्रै बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश-१, प्रदेश-२, लुम्बिनी र वाग्मतीमा मौसम खुलेको हो । काठमाण्डौ उपत्यकासहित पहाडी र तराईका धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो।विगत केही दिनदेखिको तुवाँलोका कारण देशभरको मौसम प्रभावित बनेको थियो।

केही दिनयता परेको पानी र बेलुकीपख चलेको हावाले आकाश खुल्न थालेको हो । आज बेलुकीपख पनि वाग्मतीसहित पहाडी र तराई क्षेत्रमा मौसम बद्ली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । आकाश खुले पनि वातावरण प्रदूषणको अवस्थामा भने सुधार आउन सकेको छैन।

देशका विभिन्न भागमा लागेको डढेलोका कारण गएको चैत १३ गतेदेखि काठमाण्डौ उपत्यकामा प्रदूषण बढेको थियो । वातावरण प्रदूषणको मात्रा मापन गर्ने सूचक एक्यूआईमा अहिले पनि काठमाण्डौ पहिलो प्रदूषित सूचीमा रहेको छ । काठमाण्डौको आज बिहान दश बजेको एक्यूआई एक सय ६८ रहेको छ।

बुटवलको एक सय ५२ रहेको छ । डब्ल्यूएचओले एक्यूआई ३५ सम्मलाई स्वस्थ अर्थात राम्रो ५१ देखि १ सयसम्मलाई सामान्य, २ सय एकभन्दा माथिलाई धेरै अस्वस्थकर ३ सय एकभन्दा माथिलाई घातक मापदण्ड तोकेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया