पत्रकार र मिडियाका समस्या सम्बाेधन गर्ने बजेट ल्याउन आग्रह

 बैशाख ७, २०७८ मंगलबार २०:१४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घले कोभिड–१९ बाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका कार्यक्रम ल्याउन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित पदाधिकारीले मङ्गलवार (आज) अर्थ मन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी पत्रकार र मिडियाका समस्यालाई सम्बोधन गर्ने गरी बजेट ल्याउन आग्रह गर्नुभएको हो । 

महासङ्घका अध्यक्ष विपुल पोख्रेलले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनालाई विशेष प्राथमिकता दिन अनुरोध गर्नुभयो । उहाँले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनाले पत्रकारको क्षमता अभिवृद्धिका साथै व्यावसायिक र मर्यादित हुन थप सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो । 

वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारहरूलाई प्रत्यक्ष लाभ पुग्ने गरी कोभिडबाट अति प्रभावित पत्रकारहरूलाई थप लेखन वृत्तिको व्यवस्था गर्न आवश्यकता रहेको बताउनुभयो । 

महासचिव रोशन पुरीले पत्रकार कल्याणकारी कोषको स्थापना र ज्येष्ठ पत्रकार सम्मान वृत्तिलाई सम्बोधन गर्न आग्रह गर्नुभयो । उहाँले श्रमजीवी पत्रकारका समस्या समाधानमा सरकारको सहयोगको अपेक्षा गर्नुभयो ।

पत्रकार महासङ्घका पदाधिकारीले पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्न, नेपाल पत्रकार महासङ्घको भवनमा पूर्वाधार बढाउने लगायतमा सहयोग गर्न पनि आग्रह गरेका थिए । उनीहरूले पत्रकार महासङ्घको महाधिवेशन र चुनावका लागि सरकारले आर्थिक सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । 

भेटमा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रेस स्वतन्त्रताको प्रवर्द्धन र व्यावसायिक पत्रकारिताको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले आलोचना र प्रश्नहरू लोकतन्त्रका सुन्दर पक्ष रहेको भन्दै तथ्यलाई विशेष ध्यान दिन आवश्यक भएको धारणा व्यक्त गर्नुभएको थियो । अर्थ मन्त्री पौडेलले महासङ्घका पदाधिकारीले राखेका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया