छात्रामैत्री भएनन् ताप्लेजुङका विद्यालय

 बैशाख ८, २०७८ बुधबार १५:४८:४३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङका धेरैजसो विद्यालय छात्रामैत्री नहुँदा उनीहरूको सिकाइमा असर पर्ने गरेको छ । महिनावारी हुँदा वा अन्य सामान्य अवस्थामा पनि व्यवस्थित शौचालयको अभाव, स्यानिटरी प्याडको अभाव जस्ता समस्याले छात्राहरूको सिकाइमा असर पर्ने गरेको हो । 

मोती माविकी एक छात्राले नाम नबताउने सर्तमा आफूलगायत साथीहरूलाई महिनावारीको समयमा बढी समस्या हुने गरेको बताउनुहुन्छ । ‘महिनावारीको समयमा केही साथीलाई पेट दुख्ने समस्या हुन्छ, कसैलाई स्यानिटरी प्याड चाहिएको हुन्छ । विद्यालयमै प्याड पाइन्छ तर साथीहरू शिक्षकसँग माग्न सक्नु हुन्न’, ती छात्राले बताउनुभयो ।

‘कक्षाकै एक जना छात्रालाई प्याड वितरणको जिम्मा दिएको भए साथीहरूले माग्न सक्थे । शिक्षक तथा शिक्षिकासँग म महिनावारी भएँ, मलाई प्याड दिनुस् भन्न सकिँदैन ।’ भानु जनमाध्यमिक विद्यालयकी छात्रा कमला दाहालले भन्नुभयो । महिनावारी मात्रै नभएर अन्य खालका समस्या पनि हुने गरेकाले खुलेर समस्या भन्ने वातावरण नभएको उहाँले बताउनुभयो । 

‘किशोरावस्थामा अन्य शारीरिक परिवर्तन, मानसिक तनाव हुन्छ’, कमलाले भन्नुभयो, ‘कुनै साथीलाई महिनावारीको समयमा पेट दुःखाइ हुन्छ, यस्तो बेला विद्यालयमा आराम कक्ष भएको भए राम्रो हुन्थ्यो । कोही साथी घरबाटै तनाव बोकेर आउँछन् । उनीहरूका लागि विद्यालयको वातावरण रमाइलो हुन आवश्यक छ ।’

सामुदायिक विद्यालयमा छोरीको सङ्ख्या धेरै हुने भएकाले शौचालय पनि पर्याप्त नभएको छात्राहरू बताउँछन् । शौचालयमा एकैपटक चार÷पाँच जना जानुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । ‘छोरीहरूका लागि केही मात्र शौचालय छन् । हामी झण्डै १३ सय छात्रा छौँ अनि शौचालय सफा होला त ?’ दाहालले भन्नुभयो, ‘महिनावारीको समयमा यी शौचालय प्रयोग गर्न कठिन हुन्छ । महिनावारीको समयमा प्याड व्यवस्थापन कहाँ गर्ने ? पोको पारेर घर ल्याएर फाल्नुपर्ने बाध्यता छ ।’  

भानुजन माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा कमलाले विद्यालय व्यवस्थापनको विरोध गर्दै छिटो भन्दा छिटो सबैलाई पर्याप्त हुने गरी शौचालयको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।  

शिक्षिकाहरू भने छात्राहरूले समस्या खुलेरै बताए सहयोग गर्ने गरेको बताउँछन् । महिनावारी वा अन्य समस्या भए खुलेरै आउन शिक्षिका मैया थापा आग्रह गर्नुहुन्छ । ‘हामी महिला भएकाले छोरीहरूका समस्या कस्ता हुन्छन् भन्ने ज्ञान छ । उनीहरूलाई समस्याका बारेमा खुलेर भन्न भन्छौँ’, शिक्षिका थापाले भन्नुभयो, ‘भएका सुविधा दिन, उनीहरूका कुरा सुन्न हामी सचेत छौँ ।’ 

शिक्षिका थापा आफूले छात्राहरूसँग साथीजस्तै व्यवहार गर्ने गरेको बताउनुहुन्छ । ‘उनीहरूका लागि आराम कक्ष, खाजा खाने छुट्टै ठाउँ आवश्यक छ । सामुदायिक विद्यालयमा धेरै सुविधा छैनन्’, उहाँ थप्नुहुन्छ । 
‘ताप्लेजुङमा पहाडी क्षेत्र भएका कारण विद्यालयमा लामो बाटो हिँडेर आउनुपर्ने बाध्यता छ, महिनावारी भएका बेला छात्राहरूलाई अझ कठिन हुन्छ । कसैलाई रगत बढी बगेर कक्षामा बस्नै गाह्रो हुन्छ । उनीहरूका यस्ता समस्या समाधानका लागि अभिभावकसँग पनि छलफल गर्ने गरेकी छु’, उहाँ भन्नुहुन्छ । 

शिक्षिका थापा महिनावारीमा सरसफाइलगायत यौनजन्य हिंसा, बलात्कार, बालविवाहबारे जनचेतना जगाउने काम गरिरहेको बताउनुहुन्छ । ‘किशोरावस्थामा हुने गलत विचार, गलत बाटोबाट छोरीहरूलाई जोगाउन पनि यस्ता क्रियाकलाप आवश्यक छन्’, थापाले थप्नुभयो । 

विद्यालयलाई छात्रामैत्री बनाउन पहल गर्ने भानुजन माविका व्यवस्थापन समितिका अध्यक्ष सागर मादेनले बताउनुभयो । ‘छोरा वा छोरी दुवैका लागि वातावरण सहज हुनुपर्छ । हामी सहज वातावरण बनाउन क्रियाशील छौँ, अध्यक्ष मादेनले भन्नुभयो, ‘अब छोरीहरूका समस्याबारे विद्यालयमा नियमित छलफल गर्नेछौँ । हामी विद्यालयमा स्वास्थ्य सचेतनाका लागि पनि नगरपालिकासँग पहल गर्छौँ ।’ 

नेपालको संविधानको धारा ३८ मा रहेको महिलाको हकअन्तर्गत उपधारा (५) मा ‘महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ’ भनिएको छ ।

संविधानमा भनेजस्तै शिक्षा आर्जन गर्ने छोरीहरूका लागि विद्यालयमा हुनुपर्ने सुविधा भने पुगेको छैन । छात्रहरूको सिकाइ उपलब्धि बढाउन उनीहरूका लागि मैत्री वातावरण हुनुपर्छ । ताप्लेजुङका अधिकांश विद्यालय छात्रामैत्री बन्न सकेका छैनन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया