सङ्क्रमितले भरिए लुम्बिनी प्रदेशका काेराेना अस्पताल

 वैशाख ८, २०७८ बुधबार १९:३९:२७ | हेमराज शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ – कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै दाङसहित लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पताल बिरामीले भरिएका छन् । कोरोना विशेष अस्पताल बिरामीले भरिएपछि नयाँ सङ्क्रमितले उपचार पाउन अप्ठ्यारो भएको छ ।

दाङको बेलझुण्डी, रुपन्देहीको बुटवल, भैरहवा र बाँकेको नेपालगञ्जमा रहेका कोरोना विशेष अस्पताल सङ्क्रमितले भरिएपछि नयाँ सङ्क्रमितले उपचार पाउन अप्ठ्यारो भएको हो ।

कोरोना विशेष अस्पतालबाहेक दाङको घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा पनि केही बिरामी भर्ना भएका छन् भने नेपालगञ्ज मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, क्रिमसन अस्पताललगायतमा कोरोनाका बिरामीको उपचार भइरहेको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना विशेष अस्पतालमा दुई सय ४१ शय्या (बेड) मात्रै छ । यहाँका विभिन्न निजी अस्पतालले तीन सय ८१ बेड कोरोना सङ्क्रमितका लागि छुट्याएका छन् ।

पछिल्लो तथ्याङ्कअनुसार बुधवार दिउँसोसम्म लुम्बिनी प्रदेशमा ५९ सङ्क्रमित आईसीयूमा, १० जना भेन्टिलेटरमा र साधारण बेडमा ५६ जना लक्षण भएका बिरामी रहेका छन् । बेलझुण्डीमा रहेकाे कोरोना विशेष अस्पतालमा पाँच जना आईसीयूमा र २० जना अक्सिजनसहितको बेडमा रहेको र ती सबै भरिभराउ अवस्थामा छन् ।

भारतबाट भित्रिनेको सङ्ख्या बढेसँगै लुम्बिनी प्रदेशका तीन जिल्लामा सङ्क्रमितको सङ्ख्या उच्च दरमा बढेको हो । दाङ, बाँके र रुपन्देहीमा सङ्क्रमित एक हप्तामै पाँच गुणाले बढेका छन् । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया