स्वास्थ्य मापदण्डसहितका नियम पालना नगरे कारबाही हुने

 वैशाख ९, २०७८ बिहीबार ७:५४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसकाे सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्डसहितका सबै नियम पालना गर्न सरकारले अनुरोध गरेको छ । सरकारले जारी गरेको आदेश पालना नगरे कारबाही हुने गृह मन्त्रालयले सचेत पनि गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले कोरोनाको सङ्क्रमण डरलाग्दो रूपमा बढ्न थालेकाले सरकारले जारी गरेका नियम र मापदण्ड पालना गर्नु सबैकाे दायित्व भएको बताउनुभयो । घरबाहिर निस्कँदा मास्क लगाउने, विवाह, भोजभतेर र सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी जम्मा हुन नपाइने, सार्वजनिक ठाउँमा क्षमताभन्दा बढी यात्रु राख्न नपाइने लगायतका नियम पालना नगरे कारबाही हुने उहाँको भनाइ छ ।

उज्यालोसँगको कुराकानीमा उहाँले इमानदारपूर्वक नियम पालना गर्नु सबै नागरिकको कर्तव्य भएको भन्दै उल्लङ्घन गरेमा कारबाही हुने बताउनुभयो । नियम कडाइका साथ पालना गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको पनि प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

सरकारले कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेका काठमाण्डौ उपत्यका, पोखरा, विराटनगर, भरतपुर, नेपालगञ्ज लगायत सहरी क्षेत्रका विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालनको निर्णय गरिसकेको छ ।

यस्तै सिनेमा हल, दोहोरी साँझ, हेल्थ क्लब, जिमखाना, फुटसल, स्विमिङ पुलसहित मानिसको भिडभाड धेरै हुने ठाउँ पनि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ । साथै मेला, महोत्सव, जात्रा, पर्व, विवाह, मृत्यु संस्कार लगायतका कार्यमा बढीमा २५ जना मात्रै सहभागी हुन पाइनेछ । सभा, सम्मेलन, तालिम, गोष्ठी लगायतका क्रियाकलाप अनलाइन माध्यमबाट गर्नुपर्नेछ ।

होटल तथा रेस्टुरेन्ट बिहान आठ देखि राति आठ बजेसम्म मात्रै खोल्न पाइनेछ । सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, स्यानिटाइजर राख्नुपर्ने र यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने नियम छ । लामो दूरीमा चल्ने गाडीले सिधै गन्तव्यको लागि मात्रै यात्रु चढाउन पाउनेछन्, बीच बाटोमा यात्रु चढाउन पाउने छैनन् । उनीहरूले गाडीमा यात्रुको जानकारी जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ ।

तर यी नियम कार्यान्वयन नभएको गुनासो बढेपछि सरकारले अनिवार्य नियम पालना गर्न अनुरोध गर्दै उल्लङ्घन गरेमा कारबाही गर्ने चेतावनी दिएको छ । 

यस्ता छन् निर्णयहरू–

  

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया