‘गुराँस गार्डेन’ मै फुलेन गुराँस !

 बैशाख ९, २०७८ बिहिबार १४:२६:५२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – वसन्त ऋतुको आगमनसँगै रातै देखिने रोल्पाको धार्मिक तथा पर्यटकीय क्षेत्रको गढीलेख तथा खम्वास गुराँस गार्डेनमा यस पटक गुराँस फुल्न सकेको छैन । माैसममा आएकाे परिवर्तनका कारण गुराँस फुल्न नपाएपछि वसन्त ऋतुको आभाससमेत हुन सकेको छैन ।

रोल्पाको गढीलेख तथा खम्वास क्षेत्रमा फुल्ने गुराँसका कारण हरेक वर्ष चर्चामा आउने गरेको थियो । गुराँस फुलेर रमणीयस्थल बन्ने समय भए पनि यस वर्ष लालीगुराँस फुल्ने मौसम सुरु भए पनि नफुल्दा प्राकृतिक सुन्दरता नै नदेखिएको स्थानीयवासी बताउँछन् । गुराँस संरक्षण क्षेत्रमा रहेका जङ्गलमा फुलेका गुराँससँग रमाउन र फोटो खिचाउन जाने आन्तरिक तथा बाह्य पर्यटकले होलेरीमा चहल–पहल बढ्ने गरे पनि यो वर्ष चहलपहल नै हुन सकेको छैन ।  

रुन्टीगढी गाउँपालिका स्वर्गद्वारी महाप्रभुको जन्मस्थल भएकाले पनि गढीलेख धार्मिक तथा पर्यटकीय महत्त्वसँग जोडिएको क्षेत्रमा गुराँस फुलेर राताम्मै हुने गर्दथ्यो तर यो वर्ष भने लामो खडेरीका कारण नफुलेको स्थानीयवासी पूर्णबहादुर घर्तीमगरले बताउनुभयो ।

प्रत्येक वर्ष लालीगुराँस फुलेर पहाडै रातो हुने भएकाले रोल्पाको खम्वास र गढीलेख क्षेत्रलाई गुराँस गार्डेन समेत भन्ने गरिएको छ तर गुराँस गार्डेनमै यो वर्ष गुराँस फुल्न नसकेको उहाँले बताउनुभयो। गुराँस नफुल्नुको मुख्य कारण यो वर्ष असोजदेखि यता पानी नपर्नु रहेको उहाँको भनाइ छ । लामो समय पानी नपर्दा पहाड सुख्खा भएका कारण फुल्न लागेका गुराँसका फूलहरू कोपिलामै झरेको घर्तीमगरले बताउनुभयो ।

‘खम्वासको जङ्गल होस् या गढीलेख पहाड होस्, आजभोलि गुराँस फुलेर रातै देखिने गरेको हुन्थ्यो । त्यही सौन्दर्य हेर्नका लागि यो समय दाङबाट समेत मानिसहरू आउने गर्दथे’, उहाँले भन्नुभयो, ‘तर यो वर्ष अहिलेसम्म पानी नपरेका कारण गुराँस राम्रोसँग फुल्नै पाएन ।’ उहाँले रुखमा स–साना कोपिलाहरु देखिए पनि फक्रन नपाउँदै झरेको बताउनुभयो । अघिल्ला वर्षहरूमा यो क्षेत्रमा गुराँस माघ महिनादेखि नै फुल्न सुरु गर्ने र वैशाखको अन्तिमसम्म फुलिरहने गरेको उहाँले जनाउनुभयाे । 

‘गुराँस संरक्षित क्षेत्रमा फुल्ने समय माघदेखि फागुनको अन्तिमसम्म भनिएको छ तर यो ठाउँमा वैशाखमा पनि फुल्ने गरेको थियो’, उहाँले भन्नुभयो, ‘तर यो वर्ष माघ–फागुन महिनामै पनि गुराँस फुल्न सकेन ।’ प्रत्येक वर्ष घर नजिकैको पहाडमा फुल्ने गुराँस नफुल्दा नराम्रो लागेको उहाँ बताउनुहुन्छ।

रोल्पाको गुराँस गार्डेन क्षेत्रमा गुराँस नफुलेपछि यो वर्ष घुम्नै मानिस नआएको रोल्पा सखीका सुरेन्द्र नेपालीले बताउनुभयाे । चैत तथा वैशाखमा फुल्ने गुराँस हेर्नेसँगै घुमफिरका लागि मानिसहरू आउने गरे पनि यो वर्ष गुराँस नफुल्दा पर्यटक नआएको उहाँ बताउनुहुन्छ । ‘गुराँसै गुराँसले भरिएको पहाड भएकाले खम्वास र गढीलेखलाई गुराँस संरक्षण क्षेत्र भनिने गरिएको छ’, नेपालीले भन्नुभयाे, ‘तर यस वर्ष खडेरीका कारण संरक्षित क्षेत्रमै गुराँस फल्न सकेन ।’

​जलवायु परिवर्तनका कारण पानी नपर्दा उहाँले गुराँस नफुल्नुका साथै यस वर्ष काफलको उत्पादनसमेत घटेको उहाँले बताउनुभयो। ‘समय–समयमा पानी परेको भए अहिले गुराँस फुलेर पहाडै रातो देखिने समय हो तर पानी नपर्दा वनमा कतै पनि गुराँस फुलेको देखिँदैन’, उहाँले भन्नुभयो, ‘जसले गर्दा गुराँस संरक्षण क्षेत्र बोर्डमा लेखिएको भए पनि गुराँसको फूल नै देखिँदैन ।’  

गढीलेख पर्यटन सम्पर्क व्यक्ति ऋषिराम श्रेष्ठका अनुसार लामो खडेरीका कारण यस वर्ष रोल्पाको रुन्टीगढी गाउँपालिकाको सखी सामुदायिक वन क्षेत्र, जसपुर सामुदायिक वन समूहको क्षेत्र र खम्वास क्षेत्रमा गुराँस नफुलेका हुन् ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया