वाग्मती प्रदेशमा १० वटा शीतभण्डार निर्माण हुँदै

 वैशाख १०, २०७८ शुक्रबार १२:४:५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - वाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका १३ वटा जिल्लामा शीतभण्डार निर्माणको काम गरिरहेकाे छ ।

स्थानीय सहकारी संस्था र निजी कम्पनीसँगको साझेदारीमा शीतभण्डार निर्माण गरिएकाे हाे । धेरैजसो शीतभण्डार निर्माणको काम अन्तिम चरणमा पुगेकाे छ भने केहीको काम ५० प्रतिशतभन्दा कम सकिएकाे छ।

शीतभण्डार निर्माणपछि किसानद्वारा उत्पादित तरकारी र फलफूल भण्डारण गरेर राख्न लागि सहज हुने प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले बताउनु भयाे। 

भण्डार निर्माणका लागि मन्त्रालय र साझेदार संस्थाहरुले कुल ९७ करोड ८३ लाख ६३ हजार रुपैयाँ लगानी गर्ने भएका छन्।

चितवनको खैरहनी नगरपालिका-६ मा निर्माण भइरहेकाे शीतभण्डारकाे काम अन्तिम चरणमा पुगेकाे छ । 

यो शीतभण्डार खैरहनीको साना किसान कृषि सहकारी संस्थासँगको साझेदारीमा निर्माण गरिएको हो । शीतभण्डार निर्माण गरी सकेर यही वैशाखको तेस्रो हप्तासम्ममा सञ्चालनमा ल्याउने तयारी गरिएको सहकारीका व्यवस्थापक चन्द्र लामिछानेले बताउनु भयाे । 

शीतभण्डार निर्माणका लागि मन्त्रालयले १२ करोड ९४ लाख ४२ हजार रुपैयाँ उपलब्ध गराएको छ । 

'अहिले शीतभण्डार सञ्चालनका लागि प्राविधिक कामहरु भइरहेका छन् । कर्मचारी व्यवस्थापनको काम पनि भइरहेको छ' उहाँले बताउनुभयो । मन्त्रालयको ७० प्रतिशत र सहकारीको ३० प्रतिशत लगानीमा शीतभण्डार निर्माण भइरहेको हो ।  

यस शीतभण्डारकाे क्षमता एक हजार ५ सय मेट्रिक टन रहेकाे छ । २०७५ साल चैत १३ गते सम्झौता गरेर शीतभण्डारकाे काम सुरु गरिएको थियो । अहिलेसम्म ९६ प्रतिशत काम सकिएकाे भूमि मन्त्रालयका कृषि अर्थ विज्ञ निर्मल पौडेलले जानकारी दिनुभयो । 

यस्तै धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका-७ मा पनि १५ सय मेट्रिक टन तरकारी तथा फलफूल अट्ने शीतभण्डार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मन्त्रालयले कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा शीतभण्डार निर्माण गरेको हो । सहकारीका अध्यक्ष हेमनाथ थपलियाले​ आउँदो जेठ महिनासम्ममा शीतभण्डार सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयाे ।

शीतभण्डार निर्माण गर्नका लागि मन्त्रालयले १२ करोड ८३ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको छ । मन्त्रालयका अर्थ विज्ञ निर्मल पौडेलले सहकारीले भने ३० प्रतिशत लगानी गर्ने जानकारी दिनुभयाे । 

रसुवाको कालीका गाउँपालिका-२ मा पनि साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ३ सय मेट्रिक टन क्षमताकाे शीतभण्डार निर्माण भइरहेको छ । अहिलेसम्म ७० प्रतिशत काम सकिएकाे यस शीतभण्डार निर्माणका लागि ३ करोड ७० लाख ३५ हजार रुपैयाँ लगानी गरिने भएकाे छ । 

सिन्धुलीको सुनकोशी गाउँपालिका-५ मा मुकुटेश्वर बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा शीतभण्डार निर्माण भइरहेको छ । अहिलेसम्म ६९ प्रतिशत निर्माणको काम सकिएको यस शीतभण्डार ५ सय मेट्रिकटन क्षमताको बन्ने छ । शीतभण्डार निर्माणका लागि ५ करोड ३० लाख ८० हजार रुपैयाँ लाग्ने अनुमान छ । 

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-७ मा गोल्मुथान कृषि सहकारी संस्थासँगको साझेदारीमा शीतभण्डार निर्माणको काम भइरहेको छ । ५ करोड ३५ लाख १७ हजार रुपैयाँ लागतमा निर्माण भइरहेकाे ५ सय मेट्रीकटन क्षमताको यस शीतभण्डार निर्माणको काम ३४ प्रतिशत सकिएको छ । 

सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिकाको पोखरे साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५ सय मेट्रिकटन अट्ने शीतभण्डार निर्माणको काम भइरहेको छ । ५ करोड ३५ लाख ४९ हजार रुपैयाँ लागतमा शीतभण्डार निर्माण भइरहेको शीतभण्डारमा ४५ प्रतिशीत काम सम्पन्न भएको सहकारीले जनाएको छ । 

यस्तै दोलखाको जिरी नगरपालिका-५ जिरी कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५ सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण भइरहेको छ । अहिलेसम्म यस शीतभण्डारको काम ३५ प्रतिशत सकिएको छ भने कुल ५ करोड ३७ लाख १६ हजार रुपैयाँ लागत लाग्ने अनुमान छ । 

रामेछापको मन्थली नगरपालिकामा पनि शीतभण्डार निर्माणको काम भइरहेको छ । ५ सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माणको काम ४० प्रतिशत सकिएको मन्त्रालयले जनाएको छ । कुल ५ करोड ३० लाख ९५ हजार रुपैयाँ लागतमा निर्माणको काम भइरहेको हाे । 

यसैगरी विदुर नगरपालिका-५ र बेलकोटगढी नगरपालिका-१० मा ५ हजार मेट्रिक टन क्षमताका शीतभण्डार निर्माण भइरहेका छन् । 

मन्त्रालयले ५० प्रतिशत र साझेदार कम्पनीले ५० प्रतिशत लगानी गर्ने गरी काम भइरहेको हो । दुवै शीतभण्डारमा-५ मेट्रिक टनका दरले तरकारी र फलफूल राख्न सकिने छ। दुवै नगरपालिकामा शीतभण्डार निर्माणको काम ५० प्रतिशत सकिएको छ । 

विदुर नगरपालिकामा साझेदार संस्था र मन्त्रालय समेतको गरेर २१ करोड ५२ लाख ८१ हजार रुपैयाँ र बेलकोटगढी नगरपालिकामा साझेदार संस्थाको समेत गरेर २० करोड १२ लाख ७४ हजार रुपैयाँ लागतमा शीतभण्डार निर्माण भइरहेको हो । 

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया