गोरखा भूकम्पपछि ५० हजारभन्दा धेरै परकम्प

 वैशाख १३, २०७८ सोमबार १२:४०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछि ५० हजारभन्दा बढी परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प गएको ६ वर्षमा अहिलेसम्म सानाठूला गरी ५० हजारभन्दा धेरै परकम्प गएको छ । 

यो अवधिमा ५ सय ५२ पटक चार रेक्टर स्केलभन्दा माथिका परकम्प गएको केन्द्रका प्राविधिक नविन विकले जानकारी दिनुभयो । सबैभन्दा धेरै सिन्धुपाल्चोक, दोलखा र गोरखामा परकम्प गएको  छ । यस्तै धादिङ, नुवाकोट, रसुवा तथा काठमाण्डाै उपत्यकामा केन्द्रबिन्दु भएका परकम्पको सङ्ख्या पनि उल्लेख्य रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

अब परकम्प आउने सम्भावना कति?

गोरखा भूकम्प र त्यसको परकम्पको अध्ययनमा विद्यावारिधि गर्नुभएका भूकम्पविद् लोकविजय अधिकारी भूकम्पका परकम्प अझै आइरहने बताउनुहुन्छ । चार रेक्टर स्केलभन्दा माथिका परकम्प पनि आइरहेकाले जोखिम क्षेत्रमा नागरिक सचेत रहनु पर्ने उहाँको भनाइ छ । 

भूकम्प गएपछि चिरा परेको वा फुटेको रेखामा धेरै कम्पन भएको भूकम्पविद्ले बताएका छन् । विज्ञकाअनुसार भूकम्प गएकाले बेला सञ्चित भएको शक्ति कम्पन हुँदै निस्कनु नै परकम्प जानु हो । भौगोलिक बनावटका कारण पनि भूकम्पको उच्च जोखिमयुक्त देश हो ।

यसले गर्दा परकम्प आउने मात्र होइन जुनसुकै बेला पनि भूकम्प जान सक्ने भूकम्पविद्ले बताएका छन् । भूकम्पविद् लोकविजय अधिकारी भन्नुहुन्छ-‘नेपालसहित पूरै हिमालयको क्षेत्रमा भएका देशहरु भूकम्पको जोखिममा छन् । विशेषगरी पश्चिम नेपालमा भूकम्पको जोखिम धेरै छ । नेपालको पूर्वी र मध्य क्षेत्रमा डेढ दुई सय वर्षमा भूकम्प गइरहे पनि पश्चिमी क्षेत्रमा सन् १५०५ पछि भूकम्प गएको पाइएको छैन । गोरखा भूकम्पको परकम्प अझै एक दशकसम्म आइरहन्छ।'

भूकम्पविद् लोकविजय अधिकारीकाअनुसार गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प अझै १० वर्षसम्म आइरहने विभिन्न अध्ययनले देखाएका छन् । गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएपछि भएका अध्ययनले एक दशकसम्म पनि यसको परकम्प आइरहने पाइएको उहाँले बताउनुभयो ।

‘बिस्तारै परकम्प आउन कम भएको छ तर फेरि नआउने भन्ने होइन । भूकम्प गएपछि परेका दरार पुरानै अवस्थामा फर्किन अरु १० वर्ष लाग्छ’, अधिकारीले भन्नुभयो । गोरखा भूकम्पपछि भुइँचालो नगएका ठाउँमा  पनि केन्द्रबिन्दु भएर भूकम्प जान थालेका छन् । २०७२ सालभन्दा १५, २० वर्ष अघिसम्म काठमाण्डौमा केन्द्रबिन्दु भएर भूकम्प नगए पनि गोरखामा भूकम्प गएपछि परकम्प जान थालेको अधिकारीले बताउनुभयो । यसले गोरखा भूकम्पपछि भुइँचालो जाने क्रम बढेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया