‘भर्ना भएका बिरामी डिस्चार्ज भएपछि मात्रै अर्का सङ्क्रमितले बेड पाउँछन्’

 वैशाख १३, २०७८ सोमबार १७:११:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – पश्चिम क्षेत्रको सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि स्वास्थ्यकर्मीको अभाव भएको छ । जसका कारण सङ्क्रमितहरू सहजै उपचार पाउन सकिरहेका छैनन् । गएकाे वर्ष सरकारले केन्द्रबाटै चिकित्सक पठाएर सहयोग गरेको भए पनि यस पटक चिकित्सक अभावमा अवस्था भयावह भइसकेको छ । 

गएकाे १२ दिनअघि काेराेना सङ्क्रमित हुनुभएका दाङ तुलसीपुरका सन्तोष वली भेरी अस्पताल आसपासमा उपचारका लागि दौडधुप गरिरहेको भेटिनुहुन्छ । आफूसँगै सङ्क्रमित श्रीमतीको उपचारका लागि उहाँको दौडधुप बढेको हो ।

अस्पताल बसाइ उहाँका लागि निकै कष्टकर बनेको छ । केही दिन अघिमात्रै उहाँले कोरोना सङ्क्रमणकै कारण छोरी गुमाउनुभएकाे छ । दाङमा स्टाफ नर्सको रूपमा कार्यरत रहँदा उहाँकी छोरी सङ्क्रमित हुनुभएकाे थियाे । उपचारकै क्रममा उहाँको ज्यान गयाे । यस्तो पीडाका बीच अस्पतालमा राम्रो उपचार गराउन नसकेको उहाँको गुनासो छ ।  

यो त प्रतिनिधि घटना मात्रै हो । भेरी अस्पतालमा यसै गरी कोरोना सङ्क्रमित भइ छटपटाइरहेकाहरू धेरै भेट्न सकिन्छ । भेरी अस्पतालको कोरोना बेड भरिएपछि स्थिति नियन्त्रण बाहिर गएको हो ।

कोभिडका लागि छुट्याइएको एक सय ४२ बेड भरिए पनि सङ्क्रमित अस्पताल भर्नाका लागि आउने क्रम जारी छ । कोभिडका बिरामीलाई भर्ना गर्न नसकेर मुकदर्शक भएर बस्नुको विकल्प नभएको चिकित्सकहरूले बताएका छन् । आइसोलेशनको अभावका कारण सङ्क्रमितहरू उपचार पाउनबाट वञ्चित छन् । 

अस्पतालमा जटिल अवस्थाका बिरामीहरू थपिने क्रम बढ्दो छ । भर्ना भएका बिरामीहरू डिस्चार्ज भएपछि मात्रै अर्का सङ्क्रमितले बेड पाउने अवस्था रहेको भेरी अस्पतालका फिजिसियन डाक्टर सङ्केत रिसालले बताउनुभयो ।

जिल्लाभर एक हजार दुई सय ६६ सक्रिय सङ्क्रमित छन् । अस्पतालमा भर्ना भएका बाहेक केहीलाई राँझा विमानस्थल नजिकैको ह्वाइट हाउस आइसोलेशन सेन्टरमा राखिएको छ भने केही होम आइसोलेशनमा छन् । भेरी अस्पतालले कोरोनाको सङ्क्रमण फैलिने क्रम नरोकिए समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने बताइसकेको छ । दैनिक एक सयभन्दा बढी कोरोनाका बिरामी थपिँदै गएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका ६ जनाको ज्यान गएकाे छ ।  

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया