नेपालसहित ६ देशबाट कतार प्रवेश गर्नेलाई अनिवार्य क्वरेण्टीन

 बैशाख १५, २०७८ बुधबार १४:१६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालसहित ६ देशबाट कतार जानेले अनिवार्य क्वरेण्टीन बस्नेपर्ने भएकाे छ । 

कतार सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान श्रीलङ्का र फिलिपिन्सबाट भोलिदेखि कतार प्रवेश गर्नेहरुलाई अनिवार्य क्वरेण्टीनको नियम लागु गरेको हो । पछिल्लो समय भारतमा देखा परेको कोरोनाको नयाँ भेरिएण्टका कारण सतर्कता अपनाउन कतारको जनस्वास्थ्य मन्त्रालयको सोमबार बसेको बैठकले अप्रिल २९ अर्थात भाेलिदेखि यो नियम लागु हुने जनाएको छ ।

यी देशबाट कतार प्रवेश गर्नेलाई १० दिन होटल क्वरेण्टीन वा १४ दिन मेकाइनिस क्वरेण्टीन बस्नुपर्ने छ । यस्तै यी देशबाट कतार प्रवेश गर्दा तोकिएको स्वास्थ्य केन्द्रबाट पीसीआर परीक्षण गरिएको २४ घण्टा अघिको रिपोर्ट साथमा राख्नुपर्ने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यो प्रावधान कतारमा कोरोना विरुद्धको खोप लगाइसकेका व्यक्तिको हकमा समेत लागु हुने छ । यस्तै कतारलाई ट्रान्जिट बनाइ अन्य देशमा यात्रा गर्ने सबै यात्रुलाई पनि पीसीआर परीक्षण अनिवार्य गरेको छ । आफ्नो गन्तव्य देश जानेहरुलाई पीसीआर परीक्षण आवश्यक परेमा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा तीन सय कतारी रियाल तिरेर कोरोना परीक्षण गर्न मिल्ने व्यवस्था रहेको पनि दूतावासले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया