२४ घण्टामा चार हजार आठ सय ९७ जनामा काेराेना पुष्टि, सक्रिय सङ्क्रमित ३० हजार नाघे

 बैशाख १५, २०७८ बुधबार १६:४१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा चार हजार आठ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितकाे सङ्ख्या ३० हजार नौ सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिनुभयो । 

पछिल्लो २४ घण्टामा १३ हजार आठ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा चार हजार सात सय ७४ र नौ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

आज सङ्क्रमण पुष्टि भएकामध्ये दुई हजार ४७ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । आज काठमाण्डौमा एक हजार चार सय ६४, भक्तपुरमा दुई सय ३२ र ललितपुरमा तीन सय ५१ जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या तीन लाख १२ हजार ६ सय ९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सात सय ७३ जना कोरोना सङ्क्रमित निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७९ हजार दुई सय ७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 यस्तै पछिल्लो २४ घण्टामा १० जनासहित थप १७ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट तीन हजार दुई सय ११ जनाले ज्यान गुमाएका छन् ।    

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया