चीनबाट २० हजार खाली सिलिन्डर आउँदै

 बैशाख २१, २०७८ मंगलबार १६:१८:२३ | रासस
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आउँदाे हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिनुभयो । 

उहाँले देशमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताउनुभयो । हामीसँग अक्सिजन ग्यासको कमी छैन, उहाँले भन्नुभयो, तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पुर्‍याउन कठिन भएको हो । मन्त्रालयले प्राणवायु (अक्सिजन) को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । 

मन्त्रालयले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न अनुरोध गरेको छ । नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार पाँच सय ४९ सिलिन्डर भर्न सक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ । 

अस्पतालसँग ६ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया