कामिरिता शेर्पा : २७ वर्षको अन्तरालमै २५ पटक सगरमाथाको चुचुरोमा

 बैशाख २४, २०७८ शुक्रबार १९:९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – कीर्तिमानी आरोही कामिरिता शेर्पाले शुक्रवार (आज) २५ औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ । सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि सगरमाथा आरोहण गर्ने कामिरिता पहिलो आरोही पनि बन्नुभएको छ । 

कामिरिताले सेभेन समिट ट्रेकिङको तर्फबाट चुचुरोमा पुग्ने बाटो बनाउने टोलीको नेतृत्व गर्नुभएको छ । बिहीवार (हिजो) चौथो शिविरबाट हिँडेको कामिरिताको टोलीले आज बेलुकी ६ बजे सगरमाथाको टुप्पोमा पाइला टेकेको सेभेन समिट ट्रेकिङ कम्पनीले जनाएको छ । 

शेर्पाले आज भन्दा २७ वर्षअघि अर्थात् सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गर्नुभएको थियो । २७ वर्षको अवधिमा २५ पल्ट सगरमाथा चढ्नुभएका कामिरिताले थुप्रै कीर्तिमान बनाउनुभएको छ । शेर्पाले दुई पटक केटू हिमाल, एक पटक ल्होत्से, तीन पटक मनास्लु र आठ पटक चोयु हिमाल आरोहण गर्नुभएको छ । उहाँसँगै आज १२ जना शेर्पा पनि सगरमाथामा पुगेका छन् । 

कामिरितासँगै बाटो बनाउने टोलीका फुरतेन्जी शेर्पा, लाक्पा नुर्वु शेर्पा, ङिमा टेसी शेर्पा, मिङ्मा तेन्जी शेर्पा, फुर्वा छिरिङ शेर्पा, तेञ्जिङ शेर्पा,  छेतेन दोर्जे शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा, फुर्वा छोतर शेर्पा, मिङ्मा दोर्जी शेर्पा र फुर्वा कुसाङ शेर्पा पनि सगरमाथाको चुचुरोमा पुगेका छन् । 

वसन्त ऋतुको आरोहणको लागि पर्यटन विभागले ४४ टोलीका चार सय आठ जनालाई अनुमति दिएको छ ।  

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया