छोरा बिनाकी मेरी आमा

 बैशाख २६, २०७८ आइतबार १३:२५:३५ | सुष्मा तिमिल्सेना
unn.prixa.net

हिजोआज हाम्रो समाजमा पहिलो सन्तान छोरा भएमा दोस्रो सन्तानको चाहना त्यति देखिंदैन । तर पहिलो सन्तान छोरी भए परिवारका सदस्य छिमेकी अनि आफन्तबाट छोरा चाहियो भनेर हरेक आमाहरुलाई आदेश आउन थाल्छ र एउटी आमाले छोरी हुँदाहुँदै पनि आफूले भोगेका पीडा आफ्ना छोरीहरुले भोग्न नपरोस् भनेर छोराको चाहना राखेका हुन्छन् ।

लाखौं छोरीहरु अहिले त्यस्ता भइसकेका छन् जसले उचित शिक्षा र अवसर पाउँदा आफूलाई अब्बल सावित गरेका छन्, ठूला ठूला क्षेत्रमा पुगेका छन् । आफूले गर्नुपर्ने सबै जिम्मेवारी पूरा गरेका छन् । आमाबुवाप्रतिको दायित्व पनि निर्वाह गरेका छन् । तर पनि यो समाजमा छोराकै चाहना धेरै हुन्छ ।

म स्वयं छोरी र छोरी मात्र भएकी मेरी आमाले भोगेका दुःख अनि पीडाहरु उतार्दैछु । मेरी आमा ! हामी तीन बहिनीहरुको ममतामयी आमा हुनुहुन्छ । हामी बहिनीहरुको खुसीका लागि उहाँ आफूभित्र रहेका हरेक दुःख पीडाहरु लुकाएर यो समाजमा रमाइरहनु भएको छ । मलाई थाहा छ, हाम्रै अगाडि उहाँ आफ्नो भाग्य देखेर दुःखी हुनुहुन्छ । तर म दुःखी छु भनेर आजसम्म कसैलाई पनि भन्नुभएन । दुःखी पनि कसरी नहुनु, किनकि दुःखी त मेरी आमालाई घर गाउँ अनि यो समाजले बनाएको हो । जो पटकपटक उहाँलाई छोरा बिनाकी आमा भनिरहन्छन् ।

हामी बहिनीहरुलाई खुशी राख्नका लागि उहाँले अगाडि बढ्न धेरै उत्प्रेरणा दिनुभयो । सायद आमाले भनेका सबै कुराहरु बाबाले बुझिदिएर पनि होला रक्षा बन्धन, भाइटीका जस्ता दाजुबहिनीहरुको विशेष चाडपर्वमा पनि मेरो बाबा हाम्रो दाजु बन्नुभयो र हामीलाई कहिल्यै पनि दाजुभाइको अभाव महसुस गराउनु भएन । हामी बहिनीहरु घरमा खुसी हुँदा पनि यो गाउँ अनि समाजले एउटा भए पनि छोरा पाउनुपर्छ भनेर दबाब दिन भने कहिल्यै पनि छोडेनन् ।

महिलाहरुलाई छोरा नै पाउनुपर्छ भन्ने घर, गाउँ अनि समाजको दबाब हिजो पनि थियो र आज पनि छ । अशिक्षित व्यक्तिको घरपरिवार भन्दा पनि हिजोआज पढेलेखेका व्यक्तिको घरमा यस्तो सोच अझ बढेको छ । महिलाले गर्दा घरपरिवार बनेको छ भन्ने कुरा नबुझेर समाजले हेपिरहेको छ । महिलाहरु घर, समाज अनि राष्ट्रको विकासको केन्द्र हुन् भन्ने कुरा कसैले पनि बुझेका छैनन् ।

महिलाहरुले गर्दा घर परिवार बन्छ अनि आर्थिक, राजनैतिक संकटको सामना हुन्छ तर शारीरिक बलकै कारण हरेक व्यक्तिहरुले महिलाहरुलाई पछाडि पारिरहेका छन र भन्ने गर्छन् – घरपरिवार चलाउन छोरा नै चाहिन्छ ।

छोरा जन्माएर छिमेकीको मुख बन्द गर्न मेरी आमाले धेरै प्रयास गर्नुभयो । छोराको आशमा एकपछि अर्को गर्भ बोक्नुभयो । तीनजना सन्तानको जन्म भयो तर तीनैजना छोरी । छोरीको मात्र जन्म हुनुमा मेरी आमाको के दोष थियो ? तर सबैले मेरी आमालाई नै दोष दिए । 

हरेक सभा सम्मेलन अनि भाषणमा भन्ने गरिन्छ – छोरी सृष्टिकर्ता हुन्, छोरी आमा हुन्, छोरी हजुरआमा हुन् । छोरी माता दुर्गा, विद्याकी देवी सरस्वती र धनकी देवी लक्ष्मी हुन्छन् । समाजले जीवनमा छोरीहरुलाई देवीका रुपमा पूजा गर्ने गर्छन्, तर छोरीको मात्र जन्म दिने मेरी आमा जस्ता धेरै आमाहरुलाई बाँच्नै गाह्रो छ यो समाजमा ।

हरेक घरका छोराहरुले गर्ने काम छोरीहरुले गरेका धेरै उदाहरणहरु छन् । तर यो समाजले छोरीको कुनै महत्व राख्दैन । एउटा छोरी शिक्षित भए घरपरिवार, समाज र राष्ट्रको विकास हुन्छ । यहाँ केही गर्न सक्ने महिलाहरु पनि धेरै छन् । त्यसैले महिलाहरुको सम्मान गर्नुपर्छ भनेर भाषणमा सुन्ने गरिन्छ तर देशका धार्मिक, सामाजिक, सांस्कृतिक र राजनैतिक सोच अनुसार छोरीहरु प्रजनन्कर्ता मात्र हुन्छिन् । 

छोरी एउटा निरीह र अपुरो अस्तित्व मात्र हुन्छिन किन ? किनकी हाम्रो समाजमा मृत्युसँग सम्बन्धित कर्मकाण्ड पूरा गर्न अनि घरको वंश धान्नलाई छोराको आवश्यकता हुने गर्दछ । छोराहरुले दागबत्ती नदिएमा मृतात्मा स्वर्ग जान पाउँदैन भन्ने परम्पराले नै छोरीहरु यो समाजको अगाडि अपहेलित बनेका छन् । 

यस्तो सामाजिक संस्कार र रीतिरिवाजको व्यवस्थामा पुरुषहरुले महिलामाथि दमन र शोषण गरिरहेका छन् । महिला र पुरुषहरुको फरक बनावटको कारण समाजले पनि छोरा र छोरीमा फरक व्यवहार गरेको छ । महिला र पुरुषबीच गरिएको फरक व्यवहारले गर्दा नै छोरा र छोरीबीच विवाद उत्पन्न भएको छ । त्यसैले महिला र पुरुष एक्लाएक्लै हुँदा दुवै जना अपूर्ण हुन्छन् भन्ने कुरा बुझ्न सबैले जरुरी छ । अनि मात्र सभ्य समाजका लागि महिला र पुरुष बीच समानपूर्ण व्यवहारको आवश्यकता पर्दछ । 

यसका लागि छोरा र छोरी बीच भेदभाव नगरेर हरेक व्यक्तिको सोचमा सकारात्मक परिवर्तन आउनुपर्दछ । भनिन्छ नि, लठ्ठीले कुट्दा शरीरमा चोट मात्र लाग्छ । तर कसैले भनेको शब्दले मुटु फुट्छ । हो मेरी आमालाई यो गाउँ अनि समाजले हरेक दिन छोरा बिनाकी आमा भन्दा मेरी आमाको मन छियाछिया भएको छ । मेरी आमा भक्कानिएको देख्दा समेत मैले केही गर्न सकिरहेको छैन । तर मलाई आशा छ छोराछोरी बराबर हुन्छन् भन्ने कुरा हाम्रो समाजको अगाडि एकदिन म प्रमाणित गरेर देखाउने छु ।

अन्तिम अपडेट: चैत १६, २०८०

सुष्मा तिमिल्सेना

तिमिल्सेना बर्दियाको रेडियो टाइगरसँग आबद्ध हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया