कपिलवस्तु अस्पतालमा एउटै सिलिन्डरबाट तीन जनासम्मकाे उपचार हुँदै

 बैशाख २६, २०७८ आइतबार १३:३०:८ | गोपाल भण्डारी
unn.prixa.net

कोरोना अस्थायी अस्पतालमा बेड अभाव भएपछि कपिलवस्तु अस्पतालको बरन्डामा उपचार गरिँदै । गाेपल भण्डारी, उज्यालाे

कपिलवस्तु – कपिलवस्तुमा कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेपछि सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु अस्पतालमा उनीहरुको उपचारमा समस्या हुन थालेको छ । कपिलवस्तु नगरपालिका र स्वास्थ्य कार्यालयको पहलमा तौलिहवाको जमुवार टोलमा स्थापना गरिएको २० शय्या (बेड) को कोरोना अस्थायी अस्पतालमा सङ्क्रमित बिरामीहरु राख्ने ठाउँ नभएपछि कपिलवस्तु अस्पतालमै सङ्क्रमित बिरामीहरुको उपचार सुरु गरिएको हो । 

अस्पताल भवनको इमरेन्जी वार्डको बाहिरपट्टिको बरन्डामा बेडको प्रबन्ध गरी कोरोना सङ्क्रमित र कोरोना शङ्कास्पद बिरामीहरुको उपचार भइरहेको छ । सङ्क्रमित बिरामीहरु बढ्न थालेपछि बरन्डाको भुइँमा राखेर पनि बिरामी उपचार थालिएको छ । स्वास्थ्यकर्मीहरु रात–दिन खटिए पनि अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्रीको अभावका कारण सेवा प्रभावित हुन थालेको कपिलवस्तु अस्पतालका मेडिकल अफिसर गणेश क्षेत्रीले बताउनुभयो ।  

अस्पतालमा अक्सिजनको अभावमा बिरामी समस्यामा परेका छन् । अस्पतालमा एउटै सिलिन्डरबाट दुई–तीन जना सम्मलाई उपचार गरिरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर किशोर बन्जाडेले बताउनुभयो ।  

पालिकाले अस्पतालमा अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न नसकेपछि अक्सिजन बैंक स्थापनाका लागि स्थानीय युवाको अग्रसरतामा अभियान सुुरु गरिएको छ । गएको वर्ष सक्रियता देखाएका पालिकाका जनप्रतिनिधिहरु यस वर्ष भने खासै सक्रिय नभएको कपिलवस्तु नगरपालिका २ का युवा अगुवा प्रकाश घिमिरेको गुनासो छ । 

कपिलवस्तुमा अहिले झन्डै नौ सय जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमणबाट ६४ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया