दाङमा अक्सिजन अभाव, एउटा सिलिण्डर दुई जनालाई

 बैशाख २८, २०७८ मंगलबार ११:१४:५१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा अक्सिजन अभाव भएको छ । दाङको शान्तिनगर गाउँपालिकाले सञ्चालन गरेको धनौरी स्वास्थ्य चौकीको आइसोलेशनमा अक्सिजनको अभावमा एउटै सिलिण्डरबाट दुई जनालाई अक्सिजन दिनुपर्ने अवस्था छ ।

आइसोलेशनमा कोरोना सङक्रमित बिरामीलाई अक्सिजन सिलिण्डर अभाव भएपछि एउटा अक्सिजन सिलिण्डर र एउटै अक्सिफ्लो मिटरबाट दुई जनालाई अक्सिजन दिनुपर्ने बाध्यता रहेको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले बताउनुभयो ।

‘आइसोलेशनमा सङक्रमित बिरामीको चाप धेरै छ र अक्सिजनको अभाव पनि छ’, संयोजक पुनले भन्नुभयो, ‘बिरामीको ज्यान जोगाउन भए पनि यस्तो उपाय अपनाएका हौं ।’

आइसोलेशनमा अक्सिजनको अभाव भएको समयमा अक्सिजन सिलिण्डर रिफिलको पनि समस्या छ । तुलसीपुरमा रहेको एक मात्र अक्सिजन सिलिण्डर रिफिल गर्ने सप्लायर्सले रिफिल नगर्ने जनाएको छ ।

पालिकालाई अक्सिजन सिलिण्डर रिफिल नगरी दिने र समन्वय गरेर आए मात्र रिफिल गर्ने भनेकाले झन समस्या उत्पन्न भएको संयोजक पुनले बताउनुभयो । दाङका सबै पालिकाले अक्सिजन सहितका अस्पताल बनाए पनि अक्सिजन आपूर्ति हुन सकेको छैन । बेलझुण्डी कोरोना विशेष अस्पताल र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा पनि अक्सिजन अभाव रहेको अस्पतालले जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया