दाङ, सुर्खेत र जाजरकोटमा निषेधाज्ञा थपियो

 जेठ १, २०७८ शनिबार ११:१८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दाङ, सुर्खेत र जाजरकोटमा निषेधाज्ञा थपिएको छ । दाङमा जेठ १५ गतेसम्म निषेधाज्ञा थपिएको हो । कोरोना सङ्क्रमण बढ्दै गएपछि यहाँ वैशाख १७ गतेदेखि निषेधाज्ञा लागेको हो ।

जिल्लामा आवश्यक सामग्री किन्न आइतबार र बुधबार मात्रै पसल खुल्ने भएका छन् । यसअघि हरेक दिन बिहान ७ देखि ८ बजेसम्म सामग्री किन्न पाइने व्यवस्था भएकोमा आजदेखि हप्तामा दुई दिन मात्रै पसल खुल्ने भएका हुन् । आइतबार र बुधबार बिहान ७ बजेदेखि ८ बजेसम्म मात्रै सामग्री किन्न पाईने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । 

यस्तै कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि निषेधाज्ञा १५ दिन थप गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्नुभएको हो । 

सुर्खेतमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । सङ्क्रमण र मृत्युदर उच्च रहेपछि निषेधाज्ञा जारी गर्नुको विकल्प नभएको प्रशासनले जनाएको छ । निषेधाज्ञा खुकुलो हुँदा सङ्क्रमण रोकथाममा जटिलता देखिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञामा कडाइ गर्ने तयारी गरेको छ । अब खाद्यान्नका पसलहरु आइतबार, मङ्गलबार र विहीबार तथा फलफूल, तरकारी पसलहरु दैनिक बिहान ६ देखि ९ बजेसम्म मात्र खोल्ने व्यवस्था मिलाइएको छ । 

यसैगरी कोरोना नियन्त्रण गर्न जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना फैलने दर बढेकाले दुइ हप्ता निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया