चीनतर्फबाट हुने सगरमाथा आरोहण रद्द, शिखरमा सीमारेखा कोर्ने काम पनि रोकियो

 जेठ १, २०७८ शनिबार १३:११:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चीनले वसन्त ऋतुमा हुने सगरमाथा आरोहण पूर्ण रुपमा रद्द गरेको छ । नेपालतर्फको आधार शिविरमा कोरोना सङ्क्रमण फैलिएको खबरपछि सङ्क्रमण फैलनबाट रोक्न भन्दै शिखिरमा रेखा कोर्न टोली पठाएको चीनले सबै आरोहण रद्द गर्दै आरोहीहरुलाई फिर्ता बोलाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आरोहण रद्द गरेसँगै चीनले सगरमाथाको शिखरमा सीमारेखा कोर्ने काम पनि रोकेको छ । केही मानिस उभिन मात्रै मिल्ने सगरमाथाको शिखरमा चीनले रेखा कोर्ने विषयलाई चासोका साथ हेरिएको थियो । मानिस लामो समय बस्न नसक्ने, घेराबार लगायतको भौतिक संरचनाको संभावना कम भएको तथा चीन वा नेपालतर्फको मोहोडाबाट जाने आरोहीहरु सजिलै भेट हुने भएकोले सीमारेखा असंभव रहेको आरोहीहरुले बताएका थिए ।

चासोका बीच चीनले आरोहीबाट कोरोना सर्न सक्ने भन्दै आफ्नो तर्फबाट हुने सबै आरोहण नै रद्द गरेको सिन्ह्वाले जनाएको छ । आरोहण रद्द गरेसँग चीनतर्फबाट सगरमाथा आरोहणका लागि माथिल्लो शिविरमा पुगिसकेकाहरु पनि फिर्ता भएका छन् । चीनले यो वर्ष बिदेशी नागरिकलाई सगरमाथा आरोहणको अनुमति दिएको थिएन । आरोहणका लागि ३८ जना चिनियाँ नागरिकले अनुमति लिएका थिए ।

नेपालले भने जोखिमकै बीच पनि बिदेशी नागरिकलाई सगरमाथा आरोहणको अनुमति दिएको छ । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि विदेशी र नेपाली नागरिक गरी चार सय आठ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । अहिलेसम्म आरोहण अनुमति लिएका र उनीहरुका सहयोगी समेत गरी एक सय ७० जना भन्दा धेरैले आरोहण गरिसकेका छन् ।

अहिले आरोहणका लागि मौसम अनुकूल नरहेकोले आरोहीहरु अनुकूल मौसमको पर्खाइमा आधार शिविरमा रहेका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । आरोहण वा आरोहीका सहयोगका लागि सगरमाथा आधार शिविरमा गएकामध्ये अहिलेसम्म कम्तीमा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । सरकारले भने सगरमाथामा अवस्था सामान्य रहेको भन्दै जोखिम नभएको बताउँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया