नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या चीनमा भन्दा धेरै

 जेठ २, २०७८ आइतबार २०:१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा नेपालले चीनलाई उछिनेको छ । 

थप एक सय ४५ सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार एक पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सङ्ख्या चीनमा ज्यान गुमाएकाको भन्दा धेरै हो । 

कोरोनाको तथ्याङ्कसम्बन्धी विवरण अद्यावधिक गर्दै आएको वर्ल्डोमटिरका अनुसार चीनमा कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म चार हजार आठ सय ४६ जनाको ज्यान गएको हो ।

प्रति एक लाखमा मृत्यु दर हेर्दा पनि चीनमा शून्य दशमलव तीन को ज्यान गएको छ भने नेपालमा प्रति एक लाखमा १४ दशमलव नौ को ज्यान गएको छ, यो अहिले एसियामै सर्वाधिकमा पर्छ ।  

कोरोना सङ्क्रमणको दोस्रो लहर भित्रिएसँगै नेपालमा सङ्क्रमित थपिने र सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीव्र भइरहेको छ । 

विशेषगरी घना बस्ती भएका सहर, बजार कोरोना सङ्क्रमणको हटस्पट बनेका छन् । जहाँ सङ्क्रमण पुष्टि हुने र ज्यान गुमाउने दुवैको सङ्ख्या धेरै छ । 

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण २०२० को जनवरीदेखि विभिन्न देशमा फैलिन थालेको थियो । 

नेपालमा अहिले कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिँदा चीनमा भने नियन्त्रणतर्फ गइरहेको छ । 

चीनमा सङ्क्रमणको अनुगमनदेखि कन्ट्याक्ट ट्रेसिङ, परीक्षणलगायतका कामलाई तीव्रता दिइँदा नेपाल भने त्यसमा चुकेको विज्ञहरु बताउँछन् । 

चीनमा सङ्क्रमण रोक्न कडा प्रतिबन्धदेखि रातारात कोभिडकै लागि अस्पताल बनाइएको थियो । नेपालमा भने आर्थिक अवस्थालाई भन्दा व्यवस्थापकीय कमजोरीका कारण सङ्क्रमण नियन्त्रणमा कठिनाइ भएको विज्ञले बताउँदै आएका छन् ।   

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया