हामी हिम्मत हार्दैनाैँ, कम्युनिस्ट पार्टीबीचको एकता आवश्यक छ : नेता श्रेष्ठ

 जेठ ३, २०७८ सोमबार १६:१७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देशका र विदेशका शक्तिकाे याेजनामा पार्टी फुटाइएकाे बताउनुभएकाे छ । विगतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रूपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्य साथ पार्टी एकीकरण गरिएको भए पनि पार्टी फुटाइएको उहाँले बताउनुभएकाे हाे । 

यद्यपि अझै पनि कम्युनिस्ट पार्टीबीचको एकता आवश्यक रहेको उहाँले बताउनुभएको छ । सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिस्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिस्ट पार्टीको एकता आवश्यक रहेको बताउनुभएको हो ।

पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टी पङ्क्तिमा पुर्‍याउन नसक्नु पनि कमजोरी भएको उहाँले बताउनुभयो । कम्युनिस्ट पार्टीको उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हाम्रो उद्देश्यलाई कायमै राख्नुपर्छ । पार्टी एकता एकचोटि विदेशी र देशभित्रका पार्टी एकताको मर्म नबुझ्ने र नागरिकप्रति गम्भीर रूप र इमानदार नहुने प्रवृत्तिले पार्टी एकतालाई भाँजो हाल्यो, पार्टी एकतालाई विभाजनमा पुर्‍यायाे, प्रतिगमनको दिशातिर देशलाई लग्यो भनेर अब कम्युनिस्टहरूकाे एकता काम नलाग्दो रहेछ भन्ने सोच्नु गलत हुन्छ । अब हामीले फेरि कम्युनिस्टहरूलाई कसरी एकताबद्ध गर्ने ? तर वैचारिक राजनीतिक कार्यदिशालाई सही ढङ्गले प्रष्ट पारेर, सांस्कृतिक रूपान्तरणको अभियान पनि कम्युनिस्ट आन्दोलनमा अगाडि बढाएर जानुपर्छ ।’

नेता श्रेष्ठले पहिले आफ्नो पार्टीलाई नै रूपान्तरण गर्नुपर्ने अवस्था रहेको पनि बताउनुभयाे । विगतमा पार्टी एकता गर्नु गल्ती तथा कमी कमजोरी नभए पनि समयमै विभिन्न विषयमा ध्यान दिन नसक्नु कमजोरी भएको र कमजोरी सच्याउन खोज्दा पार्टी विभाजन गरिएको उहाँको भनाइ छ । यद्यपि कम्युनिस्ट पार्टीबीचको एकीकरण गर्न आफूहरूले हिम्मत नहार्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कमजोरी सच्याउने प्रयत्न गर्दा विदेशी र यहाँभित्रको प्रतिगामी शक्तिका कारण नकारात्मक चुनौतीको सामना गर्नुपरेको छ । तर हामी हिम्मत हार्दैनौँ । कम्युनिस्टहरूले हिम्मत हार्नु हुँदैन । हामीले बाह्य शक्तिकाे हस्तक्षेपबाट देशको स्वाधीनताको रक्षा गर्ने, प्रतिगमनको दिशातिर देशलाई लैजान नदिने, कम्युनिस्ट आन्दोलनलाई फेरि एकीकरण गर्ने दिशातिर लैजाने तर त्यसको निम्ति पहिला वैचारिक, राजनीतिक लाइनमा प्रष्टता हासिल गर्ने ।’

नेकपा माओवादी केन्द्रले आफूलाई सांस्कृतिक रूपान्तरण गर्दै कम्युनिस्ट, क्रान्तिकारीसँग एकता गर्ने र अन्य लोकतान्त्रिक, देशभक्त शक्तिसँग पनि संयुक्त मोर्चा गरेर अघि बढ्नेबारे सोचेको नेता श्रेष्ठले बताउनुभयो ।  

अन्तिम अपडेट: असार २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया