ताप्लेजुङमा स्वाब दिएकाे एक हप्तामा पनि रिपोर्ट आएन

 जेठ ५, २०७८ बुधबार १५:५५:२७ | केशवप्रसाद भट्टराई
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ताप्लेजुङ – ताप्लेजुङमा पीसीआर परीक्षणका लागि स्वाब दिएकाे एक हप्तामा पनि रिपोर्ट नआएपछि स्वाब दिएकाहरू अन्योलमा परेका छन् । फुङलिङ नगरपालिकाको सुकेटार क्षेत्रबाट स्वाब सङ्कलन गरी पठाएको पीसीआर परीक्षण रिपोर्ट अझै आएको छैन ।

सुकेटारबाट एक सय ५२ जना र जिल्ला अस्पतालमा सङ्कलन गरिएका ५४ गरी दुई सय ६ जनाको स्वाब पठाएकोमा सोमवार एक सय ६ जनाको रिपोर्ट आएको र बाँकी सुकेटार क्षेत्रमा सङ्कलन गरिएको एक सय जनाको स्वाबको रिपोर्ट अझै आएको छैन । गएको बिहीवार स्वाब दिए पनि अहिलेसम्म रिपोर्ट नआएको नरेन्द्र कटुवालले बताउनुभयो ।

ताप्लेजुङमा शङ्कास्पद लक्षण देखिएका र कोरोना सङ्क्रमितसँग सम्पर्कमा रहेकाहरूको स्वाब सङ्कलन गरेर परीक्षण गर्न मोरङको विराटनगर र झापाको भद्रपुरमा पठाउने गरिएको छ । समयमा रिपोर्ट नआउँदा सङ्क्रमित भइहालेमा जोखिम र उपचारमा समेत समस्या हुने गरेको छ ।

विभिन्न जिल्लाबाट स्वाबको चाप भएकाले परीक्षणमा ढिलाइ हुने गरेको जानकारीमा आएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो ।

सुकेटार क्षेत्रको बाँकी रहेका बाहेक पनि फुङलिङ नगरपालिकाबाट एक सय ५४ जना र सिरिजङ्घा गाउँपालिकाबाट ४९ गरी दुई सय तीन जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्न पठाइएको स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया