आज र भोलि सचेत रहनू : जल तथा मौसम विज्ञान विभाग

 जेठ ५, २०७८ बुधबार १४:४४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – बुधवार (आज) र भोलि (बिहीवार) देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागले विशेष मौसमी बुलेटिन निकालेर भारतमा आएको 'ताउ–ते' चक्रवातका कारण आज कर्णाली र सुदूरपश्चिम प्रदेश तथा भोलि कर्णाली, सुदुरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको हो ।

प्रदेश १, प्रदेश २ र वागमती प्रदेशका केही ठाउँमा पनि मध्यम तथा ठूलो पानी पर्न सक्ने विभागकाे अनुमान छ । विभागले मेघगर्जन, चट्याङ, हावाहुरी, असिना–पानी तथा नदीहरूमा बाढीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

पूर्वी–मध्य अरब सागरमा विकसित शक्तिशाली समुद्री आँधी ताउ–ते सोमवार भारतको गुजरातमा बज्रिएपछि कमजोर भए पनि नेपालमा पर्सी शुक्रवारसम्म प्रभाव देखिने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

यस्तै विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्न थालिसकेकाले यो समयमा पर्वताराेहण नगर्न/नगराउन पनि आग्रह गरेको छ । केही ठाउँमा बाक्लो हिमपातसमेत हुन सक्ने भएकाले आरोहणमा गएकाहरूलाई सुरक्षित रहन विभागको आग्रह छ ।

यसअघि आज र भोलि सगरमाथा आरोहणका लागि मौसम अनुकूल अर्थात् 'समिट विन्डो' देखिएकोले त्यसका लागि झण्डै दुई सय जना आरोही पहिलो तथा दोस्रो शिविरमा पुगिसकेका थिए । उनीहरूलाई त्यहीँ बस्न वा सम्भव भएमा आधार शिविरमा झर्न भनिएको आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।

पहिलो र दोस्रो शिविरलाई तुलनात्मक रूपमा सुरक्षित मानिन्छ । दोस्राे शिविरबाट आधार शिविर फर्कन भने कठिन आइसफल भएकाले जोखिमयुक्त हुन्छ । यस वर्ष सगरमाथा आरोहणका लागि चार सय आठ जनाले अनुमति लिएकामा आधाभन्दा धेरै अनुकूल मौसमको पर्खाइमा छन् । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया