सीसीएमसी खारेज गर्न माओवादी केन्द्रकाे माग

 जेठ ६, २०७८ बिहीबार १५:११:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ । बिहीवार पेरिसडाँडामा रहेकाे केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले काेराेना भाइरसकाे सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित सीसीएमसी खारेज गर्न माग गरेको हो ।

विपद्सम्बन्धी घटना हेर्नका लागि विभिन्न सरकारी संयन्त्र भए पनि तिनलाई काम गर्न नदिइ कानुनी हैसियत नभएको सीसीएमसी गठन गरिएको र सीसीएमसी मार्फत् अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसलाई खारेजी गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सीसीएमसी खारेज गर्नुपर्छ । विपद्सम्बन्धी घटना हेर्न गृह मन्त्रालयमा अलग्गै कानुनी व्यवस्थासहितको प्राधिकरण छ । त्यसलाई पनि काम गर्न दिइएको छैन । स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गत यस प्रकारका जोखिमकाे बारेमा काम गर्ने निकाय छ । त्यसलाई पनि काम गर्न दिइएको छैन । प्रधानमन्त्रीको नेतृत्वमा यस प्रकारका विपद् हेर्ने अलग्गै निकाय छ, त्यसले पनि काम गरेको छैन । छुट्टै सीसीएमसी भनेर खडा गरेर त्यसलाई अलग्गै कानुनी हैसियत नभएको संरचनामार्फत अनियमितता, भ्रष्टाचार, सामग्री दुरुपयोगका कुरा आउने भइरहेको छ । त्यसले सही ढङ्गले काम गरिरहेको छैन, त्यो खारेज गरिनुपर्छ र कानुनले चिनेको निकायले काम गर्नुपर्छ ।’ 

माओवादी केन्द्रले सरकार एक्लैले कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्भव नहुने भन्दै प्रधानमन्त्रीको नेतृत्वमा विज्ञ तथा नागरिक समाजसमेतकाे संलग्नतामा सर्वदलीय र सर्वपक्षीय समिति बनाउनुपर्ने पनि बताएको छ । नेता पुनले भन्नुभयो ‘प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलीय, सर्वपक्षीय समिति बनाएर त्यसले सबै जनशक्ति, राजनीतिक दल, वैज्ञानिक समुदाय, विज्ञ समुदाय, नागरिक समाजलगायतका सम्पूर्ण क्षेत्रलाई यसमा परिचालन गर्नुपर्छ । त्यसो गर्न सकिएन भने सरकारकै प्रयत्‍नले यो सम्भव छैन ।’ 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया