खोप आपूर्तिमा  प्राथमिकता दिन अमेरिकालाई नेपालको आग्रह

 जेठ १०, २०७८ सोमबार १२:४४:५५
unn.prixa.net

काठमाण्डाै - नेपालले कोभिड-१९ विरुद्धको खोप आपूर्तिमा आफूलाई प्राथमिकतामा राख्न अमेरिकालाई आग्रह गरेको छ ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी सेर्मनसँग बिहान भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाललाई प्राथमिकतामा राख्न आग्रह गर्नु भएको हाे ।

मन्त्री ज्ञवालीले पहिलो डोज लगाएर दोस्रो डोजको प्रतिक्षामा रहेकालाई लगाउन आवश्यक खोप उपलब्ध गराइदिन आग्रह गरेको परराष्ट्र  मन्त्रालयले जनाएको छ ।

जवाफमा अमेरिकाले नेपाललाई सहयोग गर्न सकारात्मक रहेको बताएको परराष्ट्र मन्त्रालयद्वारा निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै, मन्त्री ज्ञवालीले महामारीविरुद्ध अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेकोमा अमेरिकालाई धन्यवाद पनि दिनु भएको छ ।

केही दिनअघि अमेरिकाले नेपाललाई कोरोनाविरुद्ध लड्नका लागि भन्दै अक्सिजन सिलिन्डरसहित भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया