वैदेशिक रोजगारी : काेराेनाकाे कारण चार गन्तव्य देशले लगाए नेपालीको प्रवेशमै रोक

 जेठ १२, २०७८ बुधबार १४:२५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले कोरोना महामारी रोकथामका लागि अन्तर्राष्ट्रिय उडान बन्द गर्दा नेपालबाट वैदेशिक रोजगारीमा जान पनि बन्द छ । पछिल्लो समय भने नेपालमा नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएपछि केही गन्तव्य देशले पनि नेपालबाट हुने उडानहरूमा प्रतिबन्ध लगाएका छन् । गन्तव्य देशहरूले पनि सङ्क्रमण रोकथामका लागि स्वास्थ्यका नयाँ मापदण्डहरू जारी गर्दै कडाइ गरेका छन् ।

बहराइन

बहराइनले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ । २३ मे देखि नेपालीसहित भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको हो । तर यी देशबाट बहराइनी नागरिक, गल्फ को अपरेसन काउन्सिलका नागरिक तथा बहराइनको बसोबासको भिसा भएकाले भने प्रवेश गर्न पाउनेछन् । तर यी देशबाट यात्रा गर्नेहरूले १० दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्नेछ । 

यात्रा गर्नुअघि ४८ घण्टासम्मको पीसीआर परीक्षण गरेको र क्युआर कोडसहितको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्छ । बहराइनमा १० दिनभन्दा बढी बस्ने यात्रुको लागि एयरपोर्ट आगमन पश्चात् बहराइन दिनार ३६ तिरेर पहिलो पटक तथा पाँचौँ र दसौँ दिनमा समेत पीसीआर परीक्षण गर्नुपर्छ ।

यसै गरी बहराइनमा पछिल्लो केही दिन यता कोरोना सङ्क्रमण दर बढेकाले सङ्क्रमण नियन्त्रणका लागि कडाइ गरिएको छ । ३ जुनसम्मका लागि सरकारी कार्यालयहरू, सपिङ मल, रेस्टुरेन्ट, सिनेमा घर आदि सार्वजनिक ठाउँहरूमा १८ वर्षभन्दा माथिका तथा दोस्रो डोज खोप लगाएको १४ दिन बढी भइसकेको  र कोरोना सङ्क्रमण निको भएकाहरूले मात्र अनुमति पाउनेछन् । 

कुवेत

कुवेतले पनि नेपालसँगको व्यवसायीक उडानमा प्रतिबन्ध लगाएको छ । कुवेतको मन्त्रीपरिषद्ले नेपाल, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबीच हुने कार्गो उडान बाहेक सबै व्यवसायीक उडानहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

यी चार देशबाट यात्रुहरू सिधै कुवेत जान पाउने छैनन् । अन्य कुनै देशमा १४ दिन अनिवार्य बसेको हुन पर्नेछ । तर अफिसियल, कूटनीतिक नियोगका कर्मचारी लगायतले भने प्रवेश गर्न पाउनेछन् । स्वास्थ्यका मापदण्ड भने पालना गर्न पर्नेछ ।

यूएई

यूएईले पनि वैशाख २९ गतेदेखि नै नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ । आउँदो बुधबारदेखि अर्को सूचना जारी हुँदासम्मका लागि नेपालसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाएको यूएईको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

नेपाली नागरिकसहित बङ्गलादेश, पाकिस्तान तथा श्रीलंकन नागरिकहरू यूएई प्रवेश गर्न पाउने छैनन् । तर यूएईका नागरिक, कुटनीतिक नियोगका कर्मचारी, यूएईका गोल्डेन रेजिडेन्सी होल्डर्स लगायतले भने यूएई जान पाउनेछन् ।  

यूएई यात्रा गर्दा पछिल्लो ४८ घण्टा भित्र गरिएको पिसिआर रिपोर्ट नेगेटिभ रहेको, विमानस्थलमा पुनः पिसिआर परीक्षण गरिने यूएईले जनाएको छ । यूएई पुगेपछि पनि १० दिन क्वरेण्टीन अनिवार्य बस्नुपर्ने छ भने  यूएई पुगेको ५ औँ र ८ औँ दिन पीसीआर परीक्षण गर्नुपर्नेछ ।

 मलेसिया

मलेसियाले नेपालीसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाएको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण रोकथामका लागि नेपाल, बङ्गलादेश, पाकिस्तानी र श्रीलंकाका नागरिकको प्रवेशमा रोक लगाउने निर्णय भएको मलेसियाको स्थानीय सञ्चार माध्यम द स्टारले खबर लेखेको छ ।

निश्चित समयका लागि रोक लगाइएको भए पनि कहिलेसम्म लगाउने भन्ने बारे खुलाइएको छैन । यो निर्णय अनुसार कूटनीतिक र सरकारी पासपोर्ट भएका बाहेक अन्य कुनै पनि भिसामा यी देशका नागरिक मलेसिया प्रवेश गर्न पाउने छैनन् ।

भारतमा पछिल्लो समय कोरोना महामारी बढेसँगै अप्रिल २८ देखि नै मलेसिया र भारतबीच हुने उडानहरूमा मलेसियाले प्रतिबन्ध लगाइसकेको छ । यी देशबाट आउने आफ्ना नागरिकले पनि अनिवार्य रूपमा १४ दिन क्वरेण्टीन बस्न पर्ने मलेसियाले जनाएको छ ।
नेपाल सरकारले ३१ मेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा रोकेको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

1 Comments

  • TAM BAHADUR GAHA

    May 27, 2021, 7:22 p.m.

    यु. ए. ई. बाट नेपाल आउन मिल्छ कि मिल्दैन? कृपया जानकारी गराई दिन होला।

  •  0 Reply

तपाईको प्रतिक्रिया